‘पशुपति प्रसाद २ः भष्मे डन’को गीतः आँचलसँग विपिन र निश्चलको डान्स

१४ भदौ २०८० ७:४६

कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजरले हंगामा मच्चाइसकेको छ । अब, यसको निर्माणपक्षले टिजरपछि चलचित्रको पहिलो गीत सार्वजनिक गरेको छ । ‘दुई चुल्ठी बाटन’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य नायक विपिन कार्कीले अतिथी कलाकारद्धय नायिका आँचल शर्मा र निश्चल खड्कासँग नृत्य गरेका छन् । चलचित्रको यो गीतले दर्शकको साथ पाउन सक्छ ।

बी पाण्डेको शब्द, सुवास भुषालको संगीत रहेको यो गीतमा मेलिना राई र निशान भट्टराइको स्वर सुन्न सकिन्छ । निरज कँडेलले खिचेको गीतको भिडियो उत्कृष्ट छ । प्रविन सिंहको कोरियोग्राफी रहेको भिडियोलाई पशुपतिमा निश्चल र आँचलको चलचित्र छायांकन भैरहेको दृश्यसँग मिलाइएको छ । भिडियोमा विपिनलाई उनकै पात्र अनुसारले प्रस्तुत गराइएको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ । खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको यो फिल्ममा दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्धाजको संगीत छ ।

चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा ‘कबड्डी ४’ले बनाएको २२ करोडको रेकर्डलाई ब्रेक गर्ने धेरैको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *