‘राष्ट्रिय चलचित्र पुरस्कार’मा हरिवंश र दियालाई उत्कृष्ट ‘अभिनेता–अभिनेत्री’को पुरस्कार

१२ भदौ २०८० १५:२०

च्लचित्र विकास बोर्डले आज राष्ट्रपति भवन, शित्तल निवासमा एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८०’ वितरण गरेको छ । विकास बोर्डले वि.सं २०७८ र २०७९ मा रिलिजमा आएका चलचित्रहरुमध्ये छनोट गरि विभिन्न विधामा पुरस्कार सम्मान प्रदान गरिएको हो ।

बोर्डले वि.सं २०७८ सालको ‘दिर्घ साधना सम्मान’बाट कलाकार लक्ष्मी गिरी तथा वि.सं २०७९ सालको ‘दिर्घ साधना सम्मान’बाट नायक शिव श्रेष्ठलाई सम्मानित गरिएको छ । दुबै कलाकारहरुलाई जनही ३ लाख ७५ हजार रुपैयाँ, ताम्रापत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले दुबै कलाकारलाई ताम्रापत्र प्रदान गरेका थिए ।

समारोहमा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०७८ र २०७९’ प्रदान गरियो । जसमा उत्कृष्ट लेखनमा चलचित्र ‘चिसो मान्छे’बाट दीपेन्द्र के खनालले पुरस्कार प्राप्त गरे । यस्तै, उत्कृष्ट छायांकनमा पुरुषोत्तम प्रधानले ‘लप्पन छप्पन २’बाट पुरस्कार प्राप्त गर्दा उत्कृष्ट सम्पादन विधामा ‘दोख’बाट निमेष श्रेष्ठले पुरस्कार प्राप्त गरे ।

यस्तै, उत्कृष्ट अभिनेत्रीमा ‘प्रकाश’बाट दिया मास्केले पुरस्कार प्राप्त गर्दा उत्कृष्ट अभिनेता विधामा ‘महापुरुष’ चलचित्रबाट हरिवंश आचार्यले पुरस्कार प्राप्त गरे ।

उत्कृष्ट निर्देशकको पुरस्कार भने चलचित्र ‘प्रकाश’बाट दिनेश राउतले प्राप्त गरे । यस्तै, उत्कृष्ट चलचित्र(आदिवासी, जनजाती, विभिन्न मातृभाषी)मा हुलन छयाँबा(देशै राम्रो)बाट श्री भोज बहादुर गुरुङले पुरस्कार प्राप्त गरे । निर्णायक विशेष छनोट पुरस्कारमा ‘ऐना झ्यालको पुतली र गोर्खा विनिथ द ब्रेभरी’ले पुरस्कार प्राप्त गरेका थिए । पुरस्कृत सबैले अवार्डसँगै २५ हजार नगद पनि प्राप्त गरेका थिए ।

यस्तै, वि.सं २०७८ सालको विशेष चलचित्र पुरस्कार ‘टुल्की र निरमाया’लाई प्रदान गरियो । यस्तै, विशेष चलचित्र २०७९ को पुरस्कार ‘बुलाकी, प्रसाद २ र चिसो मान्छे’लाई प्रदान गरिएको थियो । कार्यक्रममा विशेष योगदान सम्मानबाट ३५ जना चलचित्रकर्मीलाई सम्मानित गरिएको थियो ।

तस्वीरः विवेक बस्याल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *