‘एक भगवत् गीता’को गीतमा धिरज र सुहानाको केमेष्ट्री

७ भदौ २०८० १०:३२

झरना थापा र सुनिल कुमार थापाले निर्माण गर्ने चलचित्रमा गीतसंगीत शक्तिशाली हुने गर्दछन् । दर्शकलाई पनि उनीहरुले निर्माण गर्ने चलचित्रको गीतको प्रतिक्षा खुबै हुने गर्दछ । भदौको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘एक भगवत् गीता’को गीतसंगीतलाई लिएर दर्शकहरु प्रतिक्षामा थिए । तर, यसको निर्माणपक्षले आज पहिलो गीत सार्वजनिक गर्दै दर्शकको कौतुहलतालाई केही हदसम्म मेटाउने प्रयास गरेको छ ।

आज यो चलचित्रमा समावेश ‘मायालाई चिनो’ बोलको गीत सार्वजनिक गरिएको छ । बाबुल गिरीको स्वर तथा संगीतमा तयार भएको यो गीतका शंकर अधिकारी ‘घायल’को शब्द छ ।

सुनिल कुमार थापा प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र यो गीतमा नायक धिरज मगर र नायिका सुहाना थापाको केमेष्ट्री झल्काइएको छ । झरना थापाको कथामा तयार भएको चलचित्रमा झरना थापा, सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेलको पटकथा छ ।

यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा हिमाल केसीको एक्सन, शंकल्प भुजेलको छायांकन छ ।

यो चलचित्रको टिजरले दर्शकको माया पाइसकेको छ । अब, यो गीतले पनि दर्शकको साथ पाउने देखिएको छ ।

चलचित्रको मेकिङमा सधै नै उत्कृष्ट काम गर्ने झरना र सुनिलले यसपटक यो चलचित्रलाई पनि बलियो बनाएको विश्वास धेरैको छ । टिजरपछि पहिलो गीतले यसको छनक पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *