‘दान्भी’को क्लाइमेक्समा पूजाको खतरनाक एक्सन अवतार (भिडियोसहित)

३१ साउन २०८० ८:४८

नायिका पूजा शर्माले चलचित्र ‘दान्भी’का लागि मिहिनेत गरिरहेकी छिन् । चलचित्रको क्लाइमेक्सको दृश्यमा उनको खतरनाक एक्सन अवतार हेर्न पाइने निर्माणपक्षले बताएको छ । विगत ३ दिनदेखि चलचित्रको क्लाइमेक्सको छायांकन नैकापमा भैरहेको छ । निर्देशक रुपेश तामाङका अनुसार अझै केही दिन क्लाइमेक्सको दृश्य खिचेर अन्य एक्सनका दृश्य खिचिनेछ । काठमाडौंको नैकापमा भव्य सेट लगाएर क्लाइमेक्सको दृश्य सुट भैरहेको हो ।

चलचित्रमा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् । हरि लामा घलेको छायांकनमा तयार भैरहेको चलचित्रका सह–निर्देशक नवराज शर्मा हुन् । चलचित्रमा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ ।

चलचित्रमा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रका प्रोडक्शन म्यानेजर नेत्रबहादुर बिष्ट हुन् ।

अनुप गदाल र देव मगरको लगानीमा तयार भैरहेको चलचित्रमा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।

चलचित्रको क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । उनले भने–‘चलचित्रको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौ । दर्शकले साउथ र बलिउड चलचित्रमा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली चलचित्रमा पनि अब देख्न पाउनु हुनेछ ।’

चलचित्रको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी नायिका पूजा शर्माले भनिन्–‘चलचित्रको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु । आशा छ, दर्शकले नेपाली चलचित्रमा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् ।

चलचित्र ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो फिल्म आम दर्शकका लागि प्रतिक्षित बनिसकेको छ । चलचित्रमा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । चलचित्रको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *