नेपालमा हिट चलचित्रका सिरिजहरु चलिरहेका छन् । यसैले, पनि चलचित्र मेकरहरुले हिट चलचित्रका सिरिजहरु निर्माणमा बढी जोड दिएको पाइन्छ ।
यसैबिच, चलचित्र निर्माता राजकुमार राइले आफ्नो हिट चलचित्र ‘पापी मान्छे’को तेश्रो सिरिज बनाउने भएका छन् । यो चलचित्रलाई जनकदिप पराजुलीले निर्देशन गर्दैछन् । जनकदिपको जन्मदिनको अवसर पारेर आज यो चलचित्र निर्माणको घोषणा गरिएको हो । राजकुमारले बनाएको चलचित्र ‘पापी मान्छे’मा कुकुर र बाँदरको अभिनय थियो । उसो त अहिले नेपाली चलचित्रमा जनावरको प्रयोग खासै भएको पाइदैन ।
तर, राजकुमारले भने लामो समयपछि फेरि चलचित्रमा जनावरलाई प्रयोग गर्ने भएका छन् । चलचित्रमा गोरिल्लाको अभिनय रहनेछ । साथमा, अन्य नाम चलेका कलाकारहरुले समेत चलचित्रमा अभिनय गर्ने निर्देशक पराजुलीले जानकारी दिएका छन् । निर्देशक पराजुलीले सामाजिक संजालमा लेखेका छन्–‘पशु पशु जस्ता छैनन् । मानिस हुन खोजी रहेका छन् । मानिस मानिस जस्ता रहेनन्, पशु बन्न खोजी रहेका छन् ।’
नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका जनकदिपले ‘प्रोड्यूसर’ चलचित्रपछि यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । चलचित्रले मानिस र पशुबिचको सम्बन्धको कथा भन्ने अनुमान लगाउन सकिन्छ ।