बलिउडका चर्चित ३ नायिकाहरु एकसाथ पर्दामा देखिने भएका छन् । नायिकाहरु करिना कपुर, कृति सेनन र तब्बुले एकसाथ फिल्ममा काम गर्न लागेका हुन् । उनीहरुले एकसाथ काम गर्न लागेको चलचित्रको नाम ‘द क्रु’ राखिएको छ । यो चलचित्रलाई सन् २०२४ सालको मार्च २२ तारिखमा रिलिज गर्ने तयारी गरिएको छ ।
चलचित्रलाई एकता कपुर र रिया कपुरले मिलेर निर्माण गर्न लागेका हुन् । चलचित्र ‘वीरे दी वेडिङ्ग’पछि यी दुइले एकसाथ चलचित्र बनाउन लागेका हुन् ।
यो चलचित्रको निर्देशन राजेश कृष्णनले गर्दैछन् । चलचित्रमा दिलजीत दोसाँझ र कमेडियन कपिल शर्माले पनि काम गर्दैछन् । नायिका करिना कपुरले यो चलचित्रका लागि आफू निकै नै उत्साहित भएको उल्लेख गरेकी छिन् ।
उनले आजको समयमा हरेक कलाकारले राम्रो चलचित्रमा काम गर्न चाहेको भन्दै यो चलचित्र दर्शकले मन पराउने विश्वास समेत व्यक्त गरिन् ।