पहिलो चलचित्र ‘नाई नभन्नु ल ६’ असफल भएपनि नायक आर्शिवाद क्षेत्रीको हातमा चलचित्रको अभाव छैन । पहिलो चलचित्र रिलिज भएका करिब डेढ महिनामा नै उनले नयाँ चलचित्र साइन गरेका छन् । उनले, सफल निर्देशक दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘मायाबी’ साइन गरेका हुन् ।
यो चलचित्रमा उनले नायिका दीपिका प्रसाँइसँग काम गर्दैछन् । चलचित्रलाई पूर्णतया लभ स्टोरी कथामा तयार पार्ने दिवाकरको कोशिश छ । दिवाकर केही समयदेखि यो चलचित्रको कथामा काम गरिरहेका छन् ।
आर्शिवादले अर्को एक चलचित्रका लागि कुराकानी भैरहेको बताए । तर, चलचित्रको टिमसँग संझौता नभैसकेकाले बाहिर भन्न नसकिने उनको भनाई छ ।
पहिलो चलचित्र असफल भएपनि उनको कामको तारिफ भने भएको थियो । उनको अभिनयलाई मिडियाकर्मीले राम्रो भनेका थिए । तर, उनको डान्स र एक्सनले भने सबैको मन जितेको थियो । यसैले, उनी चलचित्रकर्मीको नजरमा परेका छन् ।
दिवाकरको यो चलचित्रको छायांकन साउनदेखि सुरु हुने बताइएको छ ।