जश्मिनले दिइन् दिदी पूजाको जन्मदिनमा ‘शुभकामना’ गीत उपहार

२९ वैशाख २०८० ७:११

गीतकार जश्मिन श्रेष्ठले आफ्नी दिदी पूजा गुरुङको जन्मदिनको अवसरमा ‘शुभकामना’ बोलको जन्मदिनको गीत उपहार दिएकी छिन् । बिहिबार बेलुकी ललितपुरमा आयोजित एक कार्यक्रममा यो गीतको भिडियो सार्वजनिक गरियो । भिडियोमा दिदी र भाईबिचको सम्बन्धलाई देखाइएको छ ।

जश्मिन नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी गीतकार हुन् । जसले, ‘शंका गर्या होइन’ बोलको गीत समेत रचेकी थिइन् । उनै, जश्मिन र पूजाले मिलेर फिल्म ‘हली’ समेत निर्माण गरेका छन् ।

यो गीतमा अर्जुन पोखरेलको संगीत, प्रताप दासको स्वर छ । यो गीतबाट आफूले माया गरेको जो कोहीलाई पनि जन्मदिनको शुभकामना दिन सक्ने गीतकार जश्मिनले बताइन् ।

यो गीतको भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माले अभिनय गरेका छन् । भिडियोमा निर्देशक माइकल चन्दले नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् । तर, उनले भिडियोमा दिएको सरप्राइजलाई उपस्थित संचारकर्मी र अन्य मानिसहरुले रुचाएका थिए ।

नवराज उप्रेतिको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । यो गीतले जन्मदिनको अवसरमा कसैलाई शुभकामना दिदा देखिएको गीतको अभावलाई पूर्ती गर्ने विश्वास गीतकार जश्मिनको छ ।

नायिका नीता ढुंगानाले सधै भरी गुञ्जने गीतमा मोडलिङ गर्न पाउँदा खुशी लागेको बताइन् । यस्तै, संगीतकार अर्जुन पोखरेलले कुनै विदेशी गीतलाई विस्थापित गर्न भन्दा पनि आफ्नै भाषाको जन्मदिनको गीत स्थापित गर्न तयार पारेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *