असारको १५ गतेलाई प्रदर्शन मिति तय गरिएको नेपाली चलचित्र ‘परस्त्री’को फस्टलुक सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरिएको फस्टलुकले सामाजिक संजालमा चर्चा पाइरहेको छ ।
कोशिश क्षेत्री र शिल्पा मास्केको मुख्य भूमिका रहेको यो चलचित्रको फस्टलुकमा शिल्पाको मादकता र कामुकता अटाएको छ । ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेको फस्टलुकमा शिल्पा मास्के बोल्ड अवतारमा देखिएकी छिन् ।
शर्मिला पाण्डेको लगानीमा सुरज पाण्डेले निर्देशन गरेको यो चलचित्र नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ । हिन्दी भाषामा डबिङ गर्नका लागि शर्मिला र सुरज विगत केही दिनदेखि मुम्बइमा छन् । यो चलचित्रलाई भारतमा पनि रिलिज गर्ने तयारी गरिएको छ । दीपेन्द्र के खनालले यो चलचित्रको कथा लेखेका हुन् ।
चलचित्रको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, चलचित्रको फस्टलुकले चलचित्रको भाव बोकेको छ ।