‘बुलाकी’को देशैभर सुखद व्यापार, दर्शकले दिए उत्कृष्ट प्रतिक्रिया

१ वैशाख २०८० १३:५९

आजबाट देशभर रिलिजका भएका ३ चलचित्रमध्ये सबैभन्दा बढी चेपुवामा परेको चलचित्र हो, ‘बुलाकी’ । टोपेन्द्र बिष्टको लगानीमा तयार भएको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

चलचित्रले प्रिमियरबाट नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो । कर्णालीमा श्रीमान् श्रीमतिबिच सन्तानको बिषयमा प्रश्न उठ्दा सुरु हुने झगडा, त्यसले निम्त्याउने परिणामको कथामा चलचित्र बनेको छ । चलचित्रको कथावस्तुले दर्शकको मन छोएको छ ।

यसैले, यो चलचित्रले आज कम शोजका बाबजुत पनि दर्शकको साथ पाएको छ । देशभरका मल्टिप्लेक्समा चलचित्रले पाएको शोजमा दर्शकको बाक्लो उपस्थित रह्यो । चलचित्र हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, फिल्मको प्रस्तुतिले मन छोएको बताए । कर्णालीको कथालाई निर्देशकले टपक्क टिपेर दर्शकमाझ पस्किएका छन् ।

फिल्मले कम शो पाएपनि पाएको शोमा दर्शकको उच्च साथ पाएको भन्दै कलाकार बिराज बिष्टले खुशी व्यक्त गरे । उनले, आफूहरु प्रदर्शकबाट च्यापिएको गुनासो गर्दै आज अन्य शो थप भएको भएपनि दर्शकको साथ पाउने पक्का देखिएको बताए ।

चलचित्रको अधिकांश हलमा बेलुकी ५ बजेपछि शो नै छैन । तर, दर्शकले हलमा आएर चलचित्रको टिकट खोजिरहेका छन् । नेपालगञ्जमा एउटा मात्र शो पाएको ‘बुलाकी’को व्यापार शतप्रतिशत रहेको थियो । अन्य शो भएको भए पनि दर्शकको साथ शत प्रतिशत रहने निर्देशक सुनारले बताए । यस्तै, मोफसल र काठमाडौं सबैतिर दर्शकले चलचित्रलाई साथ दिएका छन् ।

सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्टको मुख्य भूमिका रहेको चलचित्रको व्यापार आगामी दिनमा बढ्ने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *