‘बहाव’मा काम गर्दा सुँगासँग नजिक भएकी सुरक्षा

९ चैत २०७९ ६:२६

नायिका सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्र ‘बहाव’ चैत २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् ।

चलचित्रको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ । सुरक्षा चितवनमा चलचित्रको वर्कशप चलिरहँदा सुँगासँग नजिक भएकी थिइन् । ‘म सुँगासँग दुई महिना वर्कसपमा बसें । हामी जनावर भन्ने बित्तिकै छि छि दुरदुर गर्छौ । सुँगासँगको मेरो अनुभव केही फरक रह्यो’, सुरक्षा भन्छिन्, ‘मैले सुँगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन । उसमा अन्यौल थियो । उसमा डर पनि हुँदो रहेछ । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदो रहेछ । चलचित्रको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ ।’

सुरक्षाको अनुभवमा सुरुमा सुँगा उनीसँग नजिकिएन । तर विस्तारै सुँगा सुरक्षासँग नजिकियो । ‘मसँग सुँगा सुरुमा मानेन । तर ऊसँग बस्दै बोल्दै गएपछि उसले मलाई पत्यायो । जबकी मबाहेक अन्य व्यक्तिसँग सुँग नजिकिएन’, उनी भन्छिन्, ‘बिस्तारै सुँगा मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो । राती सुत्दा पनि सुँगा मेरो सिराने छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो ।’

ट्रेलरमा सुरक्षाले सुँगासँग ‘तलाई उड्न मन लाग्दैन हो’भनेर सोधेकी छन् । तर सुरक्षाको अनुभवमा सुँगालाई उड्न मन लागे पनि ऊभित्र एक किसिमको डर छ । ‘सुँगामा उड्न चाहने इच्छा भए पनि उडानमा उसलाई खस्ने डर छ । अथवा उसको गन्तव्य निश्चित छैन । किनकी ऊ पिँजडाभित्रै रमाइरहेको छ’, सुरक्षा भन्छिन् ।

सुरक्षाले आफू चलचित्रको अर्को सुँगा भएको दाबी गरिन् । ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ’, उनले भनिन् ।
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको चलचित्रमा श्रीधर पौडेलको लगानी छ । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।

चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *