‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभसाइत, वर्षाको सरप्राइज इन्ट्री

३ चैत २०७९ १३:०७

नायिका वर्षा सिवाकोटीको सरप्राइज इन्ट्री गराउँदै निर्देशक दीपेन्द्र के खनालले आफ्नो प्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभसाइत गरेका छन् । आज बिहानी पशुपतिनाथ मन्दिरको आँगनमा चलचित्रको शुभसाइत गरिएको छ ।

शुभसाइत समारोहमा चलचित्रका मुख्य कलाकारहरु नायक विपिन कार्की, नायिका स्वस्तिमा खड्का, कलाकारहरु खगेन्द्र लामिछाने, नायिका वर्षा सिवाकोटी, कलाकार रविन्द्र सिंह बानियाँ उपस्थित थिए । खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्रमा निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्धाज र सुभाष गजुरेलको संगीत रहनेछ । टुकी आर्टस्को ब्यानरमा खगेन्द्र लामिछानेले यो चलचित्रको निर्माण गरेका हुन् ।

चलचित्रलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गरिने निर्माणपक्षले बताएको छ ।। ७ बर्ष अघि निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद’ले व्यापारिक र समीक्षागत रुपमा निकै चर्चा पाएको थियो । चैत्र १० गतेबाट सुरु गरिने चलचित्रको छायांकन ३० दिनमा सक्ने योजना छ । चलचित्रको अधिकांश दृश्यको छायांकन पशुपति परिसरमा गरिनेछ ।

शुभसाइत समारोहमा बोल्दै नायिका स्वस्तिमा खड्काले यसपटक आफूले यसअघि गर्दै आएका भूमिका भन्दा केही फरक भूमिकामा काम गर्न लागेको बताइन् । नायिका वर्षा सिवाकोटीले यो चलचित्र आम दर्शकको मनमा बसेकाले यसको सिक्वेलमा जोडिन पाउँदा खुशी लागेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *