‘ज्याकीः आई एम ट्वान्टी वान’को कथा गीतः धिरजसँग जसिताको प्रेमलाभ

३ चैत २०७९ ११:४९

केही चलचित्रले मात्र रिलिज अगाडि दर्शकमा प्रतिक्षा बढाउन सक्छन् । वर्षमा बन्ने दर्जनौ चलचित्रमध्ये थोरै चलचित्र मात्र दर्शकको नजरमा पर्छन् र व्यापार पनि गर्छन् ।

आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ त्यस्तै एउटा चलचित्र बनेको छ, जसलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । चलचित्रको फस्टलुक, टिजर र केही पोष्टर सार्वजनिक भएसँगै यसको हाइप बढेको हो ।

यो चलचित्रको निर्माणपक्षले आज वान सिनेमाज्मा एक कार्यक्रमको आयोजना गर्दै पहिलो गीत सार्वजनिक गरेको छ । ‘कथा’ बोलको गीत र यसको भिडियोले दर्शकमा चलचित्रप्रति अझै उत्सुकता बढाउने पक्का छ ।

भिडियो सार्वजनिक कार्यक्रममा यो चलचित्रका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले नृत्य समेत गरेका थिए । सार्वजनिक ‘कथा’ बोलको गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ ।

भिडियोमा मुख्य कलाकारद्धय धिरज र जसितालाई फिचरिङ गरिएको छ । चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो । सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको चलचित्रलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । चलचित्रमा आफ्नो सपना पुरा गर्न एक पात्रले गरेको संघर्षको कथालाई उठान गरिएको छ ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा हुन् । चलचित्रमास्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको पनि संगीत छ ।

कार्यक्रममा बोल्दै चलचित्रकी निर्देशक रेनशा राई रानाले आफूले सधै नै चुनौतीपूर्ण काम गर्न रुचाएको भन्दै ‘ज्याकीः आई एम ट्वान्टी वान’ त्यस्तै एक चुनौतीबाट जन्मिएको चलचित्र भएको बताइन् । चलचित्रका नायक धिरज मगरले ३ बर्ष एउटै चलचित्रलाई दिएको भन्दै आफ्ना लागि फरक चित्र बनाउने चलचित्र बनेको बताइन् । नायिका जसिता गुरुङले यो चलचित्रका लागि गरेको मिहिनेत संझिदा आफूलाई खुशी लाग्ने सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *