दर्शकसँग अनमोलले मागे माफी, शुन्यबाट अघि बढ्ने वाचा(भिडियोसहित)

२६ फागुन २०७९ ११:१०

नायक अनमोल केसीले चलचित्र ‘छड्के २’बाट दर्शकलाई निराश बनाएको भन्दै सार्वजनिक रुपमा नै माफी मागेका छन् । चलचित्रले एक सातामा निक्कै कमजोर मात्र व्यापार गरेको थिएन, समीक्षकबाट खराब रेटिङ समेत पाएको थियो । यो चलचित्र रिलिजको पाँचौ दिनमै हलबाट उत्रिएको छ ।

फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–‘मलाई थाहा छ, मैले छड्के २ मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ । जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगेँ, मैले उहाँहरुलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु । छड्के २ मेरो नवौं फिल्म थियो, नवौं फिल्मसम्म आइपुग्दा म झनै परिपक्क हुनु पथ्र्यो । तर, यहाँ म चुक्न पुगेँ ।’

अनमोलले, आफू नवौं चलचित्रमा आइपुग्दा चुकेको भन्दै अबको दशौं चलचित्र आफ्ना लागि सुरुवात हुने समेत उल्लेख गरेका छन् । अनमोल लेख्छन्–‘्विश्वस्त हुनुहोस्, यो समय बितेर जान्छ । घाम डुबेपछि फेरि भोली नयाँ बिहानी हुन्छ । म भोलीको सुनौलो बिहानी मेरा दर्शकसँग साट्न चाहन्छु । दुखेका घाउहरुमा मल्हम लगाउने छु ।’

अनमोल अगाडि लेख्छन्–‘आज म शुन्यमा छु र मेरो करिअरको पहिलो फिल्म मेरो दशौं सिनेमा हुनेछ अर्थात मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको फिल्मबाट हुनेछ । जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रहिरहनेछ मेरो कोशिश निरन्तर जारी रहनेछ ।’

अनमोलले सार्वजनिक रुपमै चलचित्र असफल भएको जिम्मेवारी लिदै माफी मागेपछि उनको सर्वत्र प्रशंसा पनि भैरहेको छ । अनमोल जस्तो गल्तीलाई सहजै रुपमा लिन सक्ने कलाकार अरु नभएको भन्दै सामाजिक संजालमा उनको तारिफ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *