‘फूलबारी’को बुकिङ खुल्यो, के विपिन र प्रियंकाले दर्शक फर्काउलान् ?

१ फागुन २०७९ ८:०२

‘कबड्डी’ जस्तो ब्लकबस्टर चलचित्र दर्शकमाझ दिएका निर्देशक रामबाबु गुरुङ नयाँ पारिवारिक चलचित्र ‘फूलबारी’ मार्फत दर्शकमाझ आउँदैछन् । यो चलचित्र फागुणको ५ गते महाशिवरात्रीको अवसर पारेर रिलिज हुँदैछ ।

चलचित्र रिलिजका लागि ५ दिन बाँकी रहेको अवस्थामा मल्टिप्लेक्समा चलचित्रको अग्रिम बुकिङ खुल्ला गरिएको हो । तर, बलिउड चलचित्र ‘शेहजादा’ र हलिउड चलचित्र ‘एन्टम्यान एण्ड द वास्प’को असर भने चलचित्रको शोमा परेको छ ।

चलचित्रलाई क्यूएफएक्स चेनले २९ शोज, वान सिनेमाजल् ९ शो, बीभ मुभिजमा ६ शोज, रन्जना सिनेप्लेक्समा ५ शो, सिनेप्लेक्समा ७ शो, बीएसआरमा २ शो, एफक्यूब र किर्तिपुर सिनेप्लेक्समा ५–५ शोज दिएका छन् ।

पारिवारिक कथामा निर्माण भएको चलचित्रको ट्रेलर र गीत हिट भैसकेको छ । यो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा तयार भएको चलचित्रमा जोस हेरुमको छायांकन, कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । यसोदा फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा मणिराम पोखरेल कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रका निर्माता मनिष ढकाल हुन् ।

कार्तिक ११ गते रिलिज भएको चलचित्र ‘महापुरुष’ले बम्पर व्यापार गरेपछि कुनै पनि नेपाली चलचित्रले दर्शक हलसम्म तान्न सकेका छैनन् । यसैले, अब ‘फूलबारी’ले सुनसान बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *