११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, कलाकारहरु उत्साहित(भिडियो)

२६ माघ २०७९ १२:२१

नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘११ औं नेफेटा फिल्म अवार्ड’को महत्वपूर्ण भूमिका छ । यसैले, यो अवार्डलाई लिएर चलचित्रकर्मीमा पनि उत्साह देखिन्छ ।

नेपालको सबैभन्दा लोकप्रिय चलचित्र अवार्डको आज औपचारिक रुपमा घोषणा भएको छ । पाँच तारे होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई ट्रफी हस्तान्तरण गरेका थिए । फेरि, उक्त ट्रफी पुष्करले अमेरिकाको आयोजक संस्थाका प्रतिनिधी ओम आचार्य र विमल पछाईलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डले विदेशी भूमिमा नेपाली चलचित्रको विकास र विस्तार गरेको बताएका थिए । यस्तै, नेफ्टाका अध्यक्ष पुष्कर लामाले विदेशी भूमिमा अवार्ड आयोजना गर्दा उक्त देशमा नेपाली चलचित्रको विस्तार भएको जानकारी दिए ।

नेफ्टाको ११ औं संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ अर्थात मे २७ मा आयोजना हुनेछ । कार्यक्रममा बोल्दै आयोजक संस्था यूएस खबरका सम्पादक ओम आचार्यले भने–‘नेपाली चलचित्रको विकास र विस्तारमा सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । बजारमा अमेरिकामा अवार्ड आयोजना गर्ने नाउँमा मानव तस्करी गर्ने हल्ला समेत फैलाइएको रहेछ । तर, हामी अमेरिका जाने सम्पूर्ण चलचित्रकर्मीको नाम अमेरिका जानु अगाडि नै सार्वजनिक गर्नेछौं । अवार्ड सकिएपछि उहाँहरु सबै नेपाल फर्किनुहुनेछ ।’

यस्तै, अवार्ड आयोजक संस्था फेम नेपालका अध्यक्ष बिमल पछाइले भने–‘हलिउड र बलिउडसँग पनि सहकार्य गर्दै नेपाली संकृतिको विकासमा यो अवार्डले भूमिका खेल्नेछ । अवार्डमा सर्वश्रेष्ठ नायक र नायिका विधाको पुरस्कार कुनै एक हलिउड र बलिउडका कलाकारले प्रदान गर्नेछन् । हामीले टेक्ससस्थित नेपाली समुदायलाई समेटेर झण्डै दुई किलोमिटर नेपाल परेड कार्यक्रममार्फत सांकृतिक झाँकी प्रस्तुत समेत गर्नेछौं । उक्त परेडमा सातै प्रदेशको संस्कृति, भेषभुषा झल्किने झाँकी पनि प्रस्तुत हुनेछ ।’

यस्तै, आयोजक संस्थामध्येको एक आर्यन फिल्म्सका प्रमुख रमेश एम के पौडेलले पनि अवार्डले अन्तरराष्ट्रिय बजारमा नेपाली चलचित्रको विकासमा टेवा पुर्याउने बताए । नेफ्टाले यसपटक यो बर्ष रिलिज भएका चलचित्रलाई ४२ वटा विधामा राखेर प्रतिस्पर्धा हुने बताएको छ ।

नेफ्टाले यसअघि मलेसिया, हङकङ, दुबई र कतारमा पनि अवार्ड आयोजना गरिसकेको छ । कार्यक्रममा पुगेका नायिकाहरु पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, उपासना सिंह ठकुरी लगायतले नेफ्टा अवार्डलाई लिएर आफूहरु उत्साहित रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *