चलचित्र संघ र निर्माता संघबिचको सम्बन्ध चिसियो

२४ माघ २०७९ १२:०३

केही दिन अगाडि संचार तथा सूचना प्रविधी मन्त्रीलाई भेटेर चलचित्र निर्माता संघले ज्ञापनपत्र वुझाएको थियो । अध्यक्ष नवल खड्काको टोलीले मन्त्रीलाई भेटेर ज्ञापन पत्र वुझाउँदै चलचित्र संघलाई विभिन्न आरोप समेत लगाएको थियो ।

निर्माता संघले वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको अवस्थामा संचार मन्त्रीलाई भेटेर वुझाएको ज्ञापनपत्रका केही बुँदामा चलचित्र संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘एक आपसको व्यवसायिक विन्दुमा पुग्ने अवस्थामा रहेको वखत नेपाल चलचित्र निर्माता संघले नेपाल चलचित्र संघका सदस्यहरुलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्य कोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिनेका साथै अपराधीक कार्यमा संलग्न रहेको जस्तो गम्भिर, आपत्तिजनक, भ्रमपूर्ण र व्यवसायिक नैतिकता विरुद्धको आरोप लगाई ज्ञापन पत्र वुझाएकोमा यस संघको घोर आपत्ती छ ।’

चलचित्र संघले निर्माता संघको यस्तो खालको क्रियाकलापले कार्यदल, वार्ता र छलफलको औचित्य माथि नै प्रश्न चिन्ह उठेको पनि उल्लेख गरेको छ । संघले एक साता भित्रमा आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्दै यसो नभएको खण्डमा निर्माता संघको बर्तमान कार्यसमिती रहदासम्म कुनै पनि सहकार्य, छलफल र वार्ता समेत नगर्ने निर्णय गरेको छ ।

संचारमन्त्री समक्ष कपोलकल्पित ज्ञापन पत्र वाचन गर्दाको क्षणमा चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य आकाश अधिकारी उपस्थित भएर पनि कुनै प्रतिक्रिया नदिएकोमा संघ स्तब्ध भएको उल्लेख गरिएको छ । संघले अध्यक्ष केसी र सदस्य अधिकारीको धारणा समेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *