साहरुख भन्छन्–‘४ बर्षको मुश्किल समय ४ दिनमै विर्सिएँ’

१७ माघ २०७९ १६:१९

नायक साहरुख खानको सन् २०१३ पछि चलचित्रले गतिलो व्यापार गरेनन् । करिब एक दशक साहरुखका लागि सुखद बन्न सकेन ।

अझ, सन् २०१८ मा रिलिज भएको चलचित्र ‘जिरो’ असफल भएपछि त साहरुखले ४ बर्ष ब्रेक नै लिए । ४ बर्ष ब्रेक लिएका साहरुख विगत एक सातादेखि ‘पठान’ चलचित्रको माध्यमबाट हलमा धमाका मच्चाइरहेका छन् ।

साहरुख अभिनित यो चलचित्रले ६ दिनमा विश्व बजारबाट ६ सय करोड बढीको ग्रस कलेक्शन गरिसकेको छ । भारतमा मात्र यो चलचित्रले ६ दिनमै ३ सय करोड नेट कलेक्शन गरिसकेको छ । बलिउडका सबै रेकर्ड ब्रेक गरेको यो चलचित्रले साहरुखको अनुहारमा फेरि एकपटक खुशी फर्काइदिएको छ ।

सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा साहरुख निक्कै खुशी देखिए ।

४ बर्ष कसरी बिताउनुभयो भन्ने पत्रकारको प्रश्नमा साहरुखले भने–‘मलाई धेरैले अब मेरो चलचित्र चल्दैन भनेका थिए । यसैले, म खाना पकाउन सिकिरहेको थिएँ । अब, रेष्टुरेन्ट खोल्नुपर्छ कि जस्तो लागेको थियो । तर, ४ बर्षको मुश्किल समय मैले ४ दिनमा नै बिर्सिएको छु ।’

साहरुखले चलचित्र ‘पठान २’को निर्माणको बिषयमा पनि मुख खोलेका छन् । उनले, चलचित्रका निर्देशक सिद्धार्थ आनन्द र निर्माता आदित्य चोपडा तयार भएको खण्डमा आफूले अझै मिहिनेत गरेर काम गर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *