४ दिनमै २ सय करोड क्लबमा साहरुखको ‘पठान’

१५ माघ २०७९ १२:२१

बलिउडका लागि सुपरस्टार साहरुख खान अभिनित चलचित्र ‘पठान’ संजीवनी बुटी’ बनेर आएको छ । बुधबारदेखि रिलिज भएको चलचित्रले बक्स अफिसमा जुन शैलीमा धमाका मच्चाइरहेको छ, त्यसले बलिउडका पण्डितहरुलाई समेत हैरान बनाइदिएको छ ।

यो चलचित्रले रिलिजको चौथो दिनमा नै २ सय करोड क्लबमा आफूलाई प्रवेश गराएको छ । साथै, रिलिजको ६ दिनमै ३ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो चलचित्र बन्ने दौडमा ‘पठान’ छ ।

यो चलचित्रले बुधबार हिन्दी भाषामा ५५ करोड, बिहिबार ६८ करोड, शुक्रबार ३८ करोड र शनिबार ५१.५० करोडको ऐतिहासिक व्यापार गरेको छ । साथै, चलचित्रले अन्य दुई भाषामा ४ दिनमा ७.५० करोडको कमाई गरेको छ ।

यसअघि २ सय करोड क्लबमा प्रवेश गर्न ब्लकबस्टर चलचित्रहरु ‘केजीएफ २’लाई ५ र ‘बाहुबली २’लाई ६ दिन लागेको थियो ।

चलचित्रले विश्व बजारबाट ४ दिनमा ४ सय करोड ग्रस गर्ने चलचित्रको रेकर्ड समेत राखेको छ । चलचित्रले भारतीय बजारमा ४ दिनमा २६५ करोडको ग्रस कलेक्शन गर्दा ओभरसिजमा १६४ करोड ग्रस कलेक्शन गरेको छ । चलचित्रले ४ दिनमा नै ४२९ करोडको ग्रस कलेक्शन गरेको छ ।

चलचित्रले बलिउड चलचित्रको इतिहासमा आजसम्म बनेका सबैजसो रेकर्ड तोडेको छ । ‘पठान’को यो आक्रामक व्यापारले ‘केजीएफ २’को हिन्दी भाषाको रेकर्ड पनि चाडै तोडिने विश्लेषण गरिएको छ ।

४ बर्षपछि पर्दामा फर्किएका नायक साहरुख खानले आफूलाई पुनः एक पटक बलिउडको राजाको रुपमा परिचित गराएका छन् । सिद्धार्थ आनन्द बलिउडका सर्वाधिक सफल निर्देशक बनेका छन् । नायिका दीपिका पादुकोण र नायक जोन अब्राहिमको स्टारडम पनि चम्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *