‘पशुपति प्रसाद २ भष्मे डन’मा विपिनसँग स्वस्तिमाको टक्कर

१५ माघ २०७९ १२:०७

७ बर्ष अगाडि एउटा सुपरहिट चलचित्र रिलिज भयो, ‘पशुपति प्रसाद’ । यो चलचित्रले बक्स अफिसमा सफलताको झण्डा मात्र गाडेन, दर्शकदेखि समीक्षकसम्मले यसको प्रशंसा गरे । यो ७ बर्षको दौरानमा नेपालमा थुप्रै चलचित्रको सिक्वेल र सिरिज बनिसकेको छ । तर, आम दर्शक भने ‘पशुपति प्रसाद’को सिरिज कुरिरहेका छन् ।

निर्देशक दीपेन्द्र के खनालले अब भने आफूमाथि ठूलो चुनौतीको पहाड बोकाएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘पशुपति प्रसाद २ भष्मे डन’को औपचारिक घोषणा भयो ।

दीपेन्द्रकै कुरालाई मान्ने हो भने, यो चलचित्रको कथामा डुब्दा डुब्दै उनी दुब्लाएका छन् । यो चलचित्र ‘पशुपति प्रसाद’बाट उदाएको ‘भष्मे डन’ नामक पात्रको वरिपरी घुम्नेछ । चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्कीले काम गर्नेछन् । ७ बर्षको दौरानमा भष्मे डनको जीवनमा आएको उतारचढाव र भोगाइलाई कथामा दीपेन्द्रले समावेश गरेका छन् ।

चलचित्रमा विपिन कार्कीको साथमा स्वस्तिमा खड्का र सौगात मल्लको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्त्री थापा, साजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहनेछ । चलचित्रको बिषयमा स्वस्तिमाले भनिन्–‘यसपटक मेरो भष्मे डन जस्तो पात्रसँग टक्कर छ । यसैले, म नबोल्ने भन्ने त कुरा नै हुँदैन ।’

आफूहरुले ‘पशुपति प्रसाद’लाई दुहुनो गाई बनाएर यसको नाम जोड्दै चलचित्र बनाउन नखोजेको निर्माता खगेन्द्र लामिछानेको भनाई छ । आगामी फागुणको मध्यदेखि छायांकनमा जाने चलचित्रलाई वि.सं २०८० सालको दशैंको फूलपातीमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । कृष्ण भारद्धाज र सुवास भुषालको संगीत रहने चलचित्रमा निरज कँडेलको छायांकन, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्शन डिजाइन, दिर्घ खड्काको सम्पादन रहनेछ ।

चलचित्रलाई टुकी आर्टस् प्रा.लिले निर्माण गर्नेछ । कार्यक्रममा चलचित्र ‘पशुपति प्रसाद’ रिलिज भएको ७ बर्ष पुगेको अवसरमा केक समेत काटिएका थियो । केक काट्ने अवसरमा यसका मुख्य २ कलाकार खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी पनि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर