कमाईमा ‘पठान’को सुनामीः ५५ करोडको ओपनिङ, सबै रेकर्ड तोडियो

१२ माघ २०७९ ८:३०

४ बर्षपछि चलचित्रको पर्दामा फर्किएका बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’ले बक्स अफिसमा सुनामी नै ल्याएको छ । यो चलचित्रले यस अगाडि बनेका सबै बक्स अफिस रेकर्डलाई ध्वस्त पारिदिएको छ ।

यस अगाडि रिलिजको दिन सर्वाधिक कलेक्शन गर्ने चलचित्र ‘केजीएफ २’ थियो । यो चलचित्रले हिन्दी भाषामा ५३.९५ करोडको कमाई गरेको थियो । ‘केजीएफ २’ बिदाको दिनमा रिलिज भएको चलचित्र हो ।

तर, बुधबार रिलिज भएको यो चलचित्रले पहिलो दिनमा हिन्दी भाषामा ५५ करोडको आक्रामक ओपनिङ गरेको छ । यस्तै, अन्य भाषामा चलचित्रले २ करोडको कारोबार गरेको छ । योसँगै साहरुख खान अभिनित यो चलचित्र बक्स अफिसमा सर्वाधिक ठूलो ओपनिङ गर्ने चलचित्रको शिर्ष स्थानमा पुगेको छ ।

रिलिजको दिनमा बम्पर ओपनिङ गर्ने चलचित्रमा ‘वार’ ५१.६० करोड र ‘ठग्स अफ हिन्दुस्तान’ ५०.७५ करोडसहित तेश्रो र चौथो स्थानमा पुगेका छन् । यो चलचित्रले ओभरसिज मार्केटमा पनि बम्पर ओपनिङ गरेको बताइएको छ । तर, आँकडा सार्वजनिक भैसकेको छैन ।

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको चलचित्रमा साहरुख खान, जोन अब्राहिम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् । चलचित्रको वर्ड अफ माउथ समेत बलियो भएकाले आज भारतको स्वतन्त्रता दिवसको फाइदा उठाउँदै चलचित्रले ६० करोड आसपासको व्यापार गर्ने अनुमान गरिएको छ । योसँगै २ दिनमा सय करोड कमाउने पहिलो बलिउड चलचित्र समेत ‘पठान’ बन्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *