नाजिर र संचिताको ‘गुलाबी’लाई सुहानाले वितरण गर्ने

१२ पुष २०७९ १५:४६

समुन्द्र भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकारी बिक्री गरिएको छ । गतसाता इन्डक्ल्याप भएको चलचित्रको कुनै पनि प्रचार सामाग्री सार्वजनिक नहुँदै दुई संझौता भएको हो ।

नायिका सुहाना थापा सीइओ रहेको निर्माता सुनिल कुमार थापा र नायिका झरना थापाको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले यो चलचित्रको वितरण गर्नेछ । योसँगै थापा परिवारले चलचित्र वितरणको समेत सुरुवात गरेका छन् । सुहाना र निर्देशक भट्टबिच संझौता भएको छ ।

यस्तै, चलचित्रको डिजिटल अधिकार ओएसआर कम्पनीले खरिद गरेको छ । ओएसआरका प्रमुख ओम अग्रवाल र निर्देशक भट्टबिच आज संझौता भएको हो । निर्देशक भट्टले फिल्मले रिलिज अगावै राम्रो प्रस्ताव पाएकाले संझौता गरेको बताइन् । द स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा नाजिर हुसेन, सुशिल सिटौला, संचिता लुइटेल, राजा घोष, विशाल पहारी लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले पारलैङ्गिकताको कथा भन्छ ।

चलचित्रमा समुन्द्रकै कथा, रामकुमार श्रेष्ठ र नाजिर हुसैनको पटकथा, आलोक शुक्लाको छायांकन, सम्राट बस्नेतको एक्सन, लेखु सहयात्री र शान भुषालको संगीत छ । यो चलचित्रलाई फागुणको ५ गतेबाट रिलिज गर्ने समुन्द्रको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *