बलिउड नायक सुनिल सेट्टीले नेपाली चलचित्र ‘एक्स ९’मा काम गर्ने चर्चा केही महिना अगाडिसम्म खुबै भएको थियो । तर, अब यही चलचित्र बन्ने वा नबन्ने पक्का भएको छैन । निर्देशक मुकुन्द भट्ट यो चलचित्र बनाउने दौडमा फेरि लागेका छन् ।
चलचित्रमा नायिकाको रुपमा नीति शाह फाइनल भैसकेकी छिन् । नीतिलाई केही महिना अगाडि नै मुकुन्दले नायक अनमोल केसीको जोडीको रुपमा फाइनल गरेका थिए । तर, नीतिले नायिकाको रुपमा डेब्यू गर्ने साइत अझै पनि जुरेको छैन ।
यसैबिच, परिवारसँग मुम्बई पुगेकी नीति शाह र बलिउड स्टारबिच भेट भएको छ । एक पार्टीमा भएको भेटमा सुनिलले आफू नेपाली चलचित्र खेल्न सधै नै उत्सुक रहेको बताएका थिए । उनले, नेपालको सुन्दरताको प्रशंसा समेत गरेको नीतिले बताइन् ।
क्रिसमस पार्टीमा नीतिले सुनिलसँग तस्वीर खिचाएकी हुन् । नीतिले ‘हुतुतु र एक्स ९’ साइन गरेपनि यी दुबै चलचित्र बन्छन् या बन्दैनन् फाइनल भएको छैन ।