‘महापुरुष’को ५१ दिनमा नयाँ घोषणा, बन्यो पहिलो ‘कार्बन तटस्थ फिल्म’

३ पुष २०७९ १०:१२

कार्तिकको ११ गतेबाट रिलिज भएको चलचित्र ‘महापुरुष’ले नेपाली बक्स अफिसमा साढे १० करोड भन्दा बढी कमाई गर्यो । साथै, चलचित्रले घरेलु बक्स अफिसमा ५१ दिनको किर्तिमान समेत राखेको छ । यो बर्ष ‘कबड्डी ४’पछि ५१ दिन मनाउन सफल दोश्रो चलचित्र समेत ‘महापुरुष’ बनेको छ ।

चलचित्रले ५१ ीदन मनाएको अवसरमा मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित सिंगो टिमले केक काटेको छ । कार्यक्रममा यो चलचित्रका मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले केक काट्दै यो फिल्म पहिलो ‘कार्बन तटस्थ’ फिल्म बनेको बताए ।

चलचित्र निर्माणको सुरुदेखि अन्त्यसम्म वीन्ड–पावर नेपालले गरेको अध्ययनमा महापुरुषले ६.४१ टन कार्वन उत्सर्जन गरेको उल्लेख छ । ग्रीनहाउस ग्याँस (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो । यो उत्सर्जन बेलायतमा चलचित्र निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा संलग्न सम्राट पाठकले बताए । बेलायतमा एउटा चलचित्र निर्माण गर्दा ६०० टन र हलिउडमा १८ सय टन कार्वन उत्सर्जन हुने तथ्य उनले प्रस्तुत गरे ।

उनका अनुसार छायांकनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर ‘कार्बन फुटप्रिन्ट’को अध्ययन गरिएको थियो । जसमा चलचित्र छायांकनको बेला प्रयोग भएको बिजुली बस ४ हजार किमी गुडेको र यसबाट ३ टन कार्वन उत्सर्जन हुनबाट जोगिएको उनले उल्लेख गरे । ६ टनभन्दा बढी कार्वन उत्सर्जन गरेको तथ्यांक बाहिर आएपछि चलचित्र निर्माताले २६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा गरेका छन् । कलाकार हरिवंश आचार्य एक्लैले गाउँमा डेढसय रुख रोप्ने र यसका लागि पानी ट्यांकीको निर्माण भैरहेको जनाए ।

निर्माता म्याक्स दिपेश खत्रीले अन्य चलचित्रले पनि कार्वन उत्सर्जन घटाउने ढंगले काम गर्नुपर्ने बताए । कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले अन्य चलचित्र निर्मातालाई पनि प्रेरित गर्न आफूहरु कार्वन उत्सर्जनलाई कटौती गर्न प्रयास थालेको बताए । व्यक्तिगतरुपमा पनि आफूहरु कार्वन तटस्थ बन्ने प्रयासमा रहेको उनले सुनाए । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराईले सफलतासँगै दायित्व थपिएको बताए ।

‘मसँगै चलचित्रकर्मीलाई सामाजिक संदेश भन्न समेत उर्जा मिलेको छ । यसले नेपालसँगै अमेरिकाको डलासमा समेत ५१ औँ दिन पुरा गरेको छ’, निर्देशक भट्टराईले भने । भट्टराइको निर्देशनमा बनेको ‘महापुरुष’ चौथो चलचित्र हो, जसले ५१ दिनको आँकडा पुरा गर्यो । यसअघि उनले नै निर्देशन गरेका ‘जात्रा, शत्रुगते र जात्रै जात्रा’ले पनि घरेलु बक्स अफिसमा ५१ दिनको आँकडा पार गरेका थिए ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *