नम्रता सापकोटाः अभिनय राम्रो गर्ने तर पछि परेकी कलाकार
२५ मंसिर २०७९ ५:२४
नायिका नम्रता सापकोटा अभिनित चलचित्र ‘डेसान’ शुक्रबारदेखि नेपालका हलमा रिलिज भैरहेको छ । यो चलचित्रले आइतबारसम्म आइपुग्दा बक्स अफिसमा दम तोडिसकेको छ । हलमा दर्शक नआएपछि अधिकांश शोज कटौती भैसकेका छन् । नम्रताका लागि बक्स अफिसमा चलचित्र सफल नहुँदा चलचित्र क्षेत्रको यात्रा पनि सुखद बन्न सकिरहेको छैन ।
यो चलचित्रमा नम्रताले नकारात्मक भूमिकामा काम गरेकी छिन् । आफ्नो सन्तान नभएपछि अरुको घर समेत भाड्ने महिलाको भूमिकामा नम्रताले अभिनय गरेकी छिन् ।चलचित्रमा उनको भूमिका सशक्त छ । नम्रताको अभिनयदेखि उनको ग्ल्यामर छविले समेत दर्शकलाई उनको याद गर्न बाध्य बनाउँछ । नम्रताको अभिनय चलचित्रमा तारिफ गर्न सकिन्छ ।
तर, चलचित्र नचल्दा नम्रताको कामको समेत नोटिस हुन पाएन । जसलेगर्दा, नम्रताको काम ओझेलमा परेको छ ।
चलचित्र ‘छक्का पन्जा’ चलेपनि नम्रता चल्न सकिनन् । यसपछि, उनले केही चलचित्रमा मात्र काम गरेकी छिन्, जुन सफल हुन पाएका छैनन् । यहीकारण हो, नम्रता चलेका ब्यानरको आँखामा पर्न सकेकी छैनन् ।