‘महापुरुष’को बम्पर व्यापार, रुदै हलबाट निस्किए दर्शक(भिडियो)

१२ कार्तिक २०७९ ९:५६

हिजो शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘महापुरुष’ले आज दोश्रो दिन पनि बम्पर व्यापारलाई कायमै राखेको छ । पहिलो दिन यो चलचित्रले एक करोड हारहारीको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । चलचित्र हेर्न पुगेका सबैजसो दर्शकले यसलाई उत्कृष्ट भनेका छन् । केही दर्शक त आफ्ना पिता संझिएर रुदै हलबाट पनि निस्किएका छन् ।

चलचित्र हेर्न शुक्रबार एकै परिवारका २८ जनाले भक्तपुरको क्यूएफएक्समा टिकट काटेका थिए । निर्देशक प्रदीप भट्टराई भन्छन्–‘एकै परिवारका २८ जनाले टिकट काटेर चलचित्र हेर्नुभयो । बाहिर निस्कदा उहाँहरुको अनुहारमा खुशी देख्यौं । यसले हामीलाई सन्तुष्टी दिएको छ ।’

प्रदीपले आफूहरुले उठान गरेको बिषयवस्तुलाई दर्शकले रुचाएको बताए । यस्तै, कलाकार हरिवंश आचार्यले भने–‘बलिदानपछि मैले फरक भूमिकामा काम गर्न पाएँ । नयाँ पुस्ताका दर्शकमाझ यस किसिमको भूमिका गर्न पाउँदा खुशी छु ।’ चलचित्रले नेपालमा मात्र अष्ट्रेलियामा पनि राम्रो सुरुवात गरेको छ ।

आदर्शनगरमा बसोबास गर्ने अवकास प्राप्त शिक्षक मार्फत यो चलचत्रिले एकल पिताको कथा भनेको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको चलचित्रले दर्शकको मन जितिरहेको छ ।

आज दोश्रो दिन पनि चलचित्रको व्यापारमा कुनै गिरावट आएको छैन । आज शुक्रबारको भन्दा झनै बम्पर व्यापार चलचित्रले गरिरहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *