भाइटिकामा पनि ‘के घर के डेरा’मा उच्च अकुपेन्सी, मिश्रित प्रतिक्रियाबिच किन आए दर्शक ?

१० कार्तिक २०७९ १०:१४

कार्तिकको ४ गते तिहारको छेको पारेर नेपाली चलचित्र ‘के घर के डेरा’ रिलिज भयो । चलचित्रले शुक्रबार औषत सुरुवात गरेपनि शनिबार गज्जबको व्यापार गर्यो । आइतबार र सोमबार केही सुस्ताएको व्यापार मंगलबारबाट उकालो लाग्यो । र यो व्यापार आज भाईटिकाको दिनमा पनि कम भएको छैन ।

भाईटिकाको दिन भएकाले हलहरुले पनि २ बजेपछि मात्र शोज राखेका थिए । २ बजेपछि दर्शकको उपस्थिती हलमा बाक्लो देखिन थालेको छ । यो उपस्थिती बेलुकीका शोजहरुमा अझ बढ्ने देखिएको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई समीक्षक र दर्शक दुबैले मिश्रित प्रतिक्रिया दिएका छन् । २ घन्टा २४ मिनेट लामो चलचित्रलाई समीक्षकले कमजोर भनेका छन् भने दर्शकले ठिकै भनेका छन् । तर, पनि यो चलचित्रमा दर्शक किन आइरहेका छन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा सिङ्गे लामाको कथा छ । सामाजिक कथा भन्न रुचाउने निर्देशक खनालले यसपटक कमेडी कथालाई रोजे । यो चलचित्रले घर र डेरामा बस्ने मानिसहरुको समस्यालाई बताउनेछ भन्ने अपेक्षा धेरैको भए पनि मध्यान्तरपछि चलचित्रको कथा विपिन र दयाविचको लफडामा मोडिएको छ । खैर जेहोस्, दर्शकले यो चलचित्रलाई साथ दिइरहेका छन् ।

यो चलचित्रलाई दर्शकले साथ दिनुको मुख्यकारण, यसको संवाद हो । विपिन कार्की, दयाहाङ राई लगायतका कलाकारले बोल्ने संवादले हलमा हाँसो सुनिन्छ । कतिपय स्थानमा डेरामा बस्नेहरुको समस्यालाई मन छुने गरि चलचित्रले भनेको छ ।

अन्तिमसम्म चलचित्रले दर्शकलाई हसाँइरहेको छ । कथावस्तु अन्तै मोडिएपनि चलचित्रले दर्शकलाई दिक्क भने बनाउँदैन । यसैले, पनि परिवारसहित दर्शक हलसम्म पुगेको वुझ्न सकिन्छ । अर्कोतिर, चलचित्रका चर्चित कलाकारको ब्रान्ड, निर्देशक खनालको नै ब्रान्ड, तिहारको बिदाले ‘के घर के डेरा’को व्यापारलाई बलियो बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *