असोजमा चल्यो ‘प्रेमगीत र २ नम्बरी, चलेनन् ‘बाबरी र हिजो आजका कुरा’(भिडियो रिपोर्ट)

१ कार्तिक २०७९ १५:३२

असोजको महिना नेपाली चलचित्रका लागि सुखद देखियो । दशैं पर्वका कारण पनि निर्माताले चलचित्र चलाउनका लागि बिदाको लामो समय पाए । यही बिदाको सदुपयोग गर्दै चलचित्र ‘प्रेमगीत ३’ हिट भयो । सन्तोष सेनले निर्देशन गरेको यो चलचित्रमा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।

असोजमा चलचित्र ‘२ नम्बरी’ पनि हिट भयो । असोजको २१ गतेबाट रिलिज भएको यो चलचित्र दोश्रो सातामा पनि दर्शकको उल्लेखनिय साथ पाउँदै हलमा चलिरहेको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्दि तामाङ मुख्य भूमिकामा छन् ।

तर, यही महिना रिलिज भएको चलचित्र ‘बाबरी’ बक्स अफिसमा चम्कन सकेन । असोजको १४ गतेबाट रिलिज भएको चलचित्रले एक सातामै हलमा कम शोज पायो । निर्माताले कम शोज पाएको भन्दै पत्रकार सम्मेलन पनि गरे । तर, चलचित्रको शोज बढेन ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा धिरज मगर, अदिती वुढाथोकी र धिरज नाडकर मुख्य भूमिकामा छन् । यस्तै, सन्तोष पन्तको निर्माण र साकार पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘हिजो आजका कुरा’ पनि बक्स अफिसमा चलेन । असोजको २८ गतेबाट रिलिज भएको चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, साकार पन्त, रीमा विश्वकर्मा, जेविका कार्की, दिव्य देव लगायतका कलाकारको मुख्य भूमिका छ ।

कार्तिक महिना पनि नेपाली चलचित्रका लागि सुखद हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *