प्रिमियरमा ‘हिजो आजका कुरा’लाई कस्तो आयो प्रतिक्रिया ?

२७ असोज २०७९ ७:२९

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘हिजो आजका कुरा’को बुधबार बेलुकी प्रिमियर गरिएको छ । काठमाडौंको वान सिनेमाज्मा गरिएको प्रिमियरमा चलचित्रलाई सुखद प्रतिक्रिया मिलेको छ । चलचित्र हेर्न उपस्थित भएका मिडियाकर्मी र चलचित्रकर्मीले यो चलचित्रको बिषयवस्तु राम्रो भएको बताए ।

नेपाली टेलिभिजनमा ११ बर्षसम्म प्रशारण भएको सिरियल ‘हिजो आजका कुरा’कै नाम सापटी लिएर यो चलचित्र तयार भएको हो । चलचित्रले विशेषगरि, परिवारलाई छाडेर विदेश जानुपर्ने वाध्यता, मोह र व्यथाको कथा भन्छ ।

चलचित्रले ३ पुस्ताको कथालाई पर्दामा देखाएको छ । चलचित्र हेर्नका लागि दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायतका चलचित्रकर्मी हल पुगेका थिए । यस्तै, चलचित्रका मुख्य कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, जेबिका कार्की, दिव्य देव लगायत पनि हलमा पुगेका थिए । चलचित्रकर्मी र मिडियाकर्मीबाट पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको उनीहरुको भनाई थियो ।

साकार पन्तको निर्देशनमा तयार भएको यो चलचित्र २ घन्टा २७ मिनेट लामो छ । चलचित्रको पहिलो हाफ हेर्दा दर्शकलाई ‘हिजो आजका कुरा’ सिरियल हेरे जस्तो महशुश हुन्छ । दोश्रो हाफमा भने कथा केही सम्हालिएको छ । ऋचा शर्मा र दिव्य देवको भेट भएपछि कथावस्तुले केही नयाँ मोड लिन्छ ।

चलचित्रले दिन खोजेको सन्देश राम्रो छ । प्रस्तुतिमा केही नयाँपन आवश्यक भएपनि निर्देशकले सिरियलको शैलीमा चलचित्रलाई बगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *