‘२ नम्बरी’को २ दिने व्यापार सुखद, दर्शकले भने उत्कृष्ट फिल्म

२३ असोज २०७९ ४:१८

शुक्रबारदेखि रिलिजमा आएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ले नेपाली बक्स अफिसमा सुखद कमाई गरेको छ । दशैंको टिकाको पर्सिपल्ट रिलिज भएको फिल्मले झरीका बाबजुत पनि व्यापारमा उछाल कायम गरेको हो ।

वितरकले यो फिल्मले उत्कृष्ट व्यापार गरेको र व्यापारिक श्रृङ्खला अझै नरोकिने दाबी गरेका छन् । वितरक रोहित कट्टेलले फिल्मले साना–साना स्टेशनदेखि ठूला स्टेशनमा नसोचेको व्यापार गरेको बताए ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मको कमेडी र सन्देशलाई दर्शकले रुचाएका छन् । हलबाट निस्किएका अधिकांश दर्शकले यो फिल्मको कथावस्तु, कलाकारको अभिनय र अन्तिममा बनजंगल र बन्यजन्तु संरक्षणको बिषयमा दिइएको सन्देश उत्कृष्ट भएको प्रतिक्रिया दिए ।

फिल्म हलमा पुगेकी नायिका उपासनाले दर्शकको प्रतिक्रियाले खुशी लागेको बताइन् । उनले, आफूले कम फिल्म खेल्ने तर राम्रो कथावस्तु भएका फिल्ममा बढी ध्यान दिने पनि बताइन् ।

भुटानी नायिका उगेन छोदेन नेपाली डेब्यू चलचित्रले घरेलु बक्स अफिसमा पाएको प्रतिक्रियाले उत्साहित छिन् । उनले, दर्शकले माया दिएको खण्डमा आगामी दिनमा पनि नेपाली फिल्म खेल्ने बताइन् ।

निर्माता किरण नेपालीले पहिलो दिन फिल्मले घरेलु बक्स अफिसमा १ करोड माथिको कलेक्शन गरेको प्रतिक्रिया दिए । निर्देशक दीपेन्द्र लामाले आफ्ना फिल्मले सधै नै सामाजिक कथावस्तु बोक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *