१५ प्रतिशत विकास शुल्क तिरेपछि विकास बोर्डले दियो ‘प्रेमगीत ३’ हिन्दीलाई सेन्सर अनुमति

५ असोज २०७९ ९:२२

चलचित्र विकास बोर्डले हिन्दी भाषामा डब भएको चलचित्र ‘प्रेमगीत ३’लाई सेन्सरका लागि अनुमति दिएको छ । विगत केही दिनदेखि देखिएको विवाद पनि योसँग सकिएको छ । यो फिल्मलाई विकास बोर्डले विदेशी फिल्म भन्दै १५ प्रतिशत विकास शुल्क समेत तिर्ने गरि सेन्सरका लागि अनुमति दिएको हो । साथै, फिल्मले भन्सारका लागि लाग्ने २० हजार रुपैयाँ समेत तिरेको छ ।

अब, यो चलचित्रको हिन्दी भर्सनले नेपाली चलचित्र सरहको कुनै पनि सुविधा पाउने छैन । चलचित्र विकास बोर्डले विगत केही दिनदेखि ‘प्रेमगीत ३’को हिन्दी भर्सनलाई नेपाली चलचित्रको सरह सुविधा दिन नमिल्ने भन्दै अडान लिएको थियो ।

तर, भारतमा सेन्सर भएर शुक्रबारदेखि रिलिज हुन तयार भएको यो चलचित्रको हिन्दी भर्सनलाई समेत नेपाली चलचित्रको सरह सुविधा दिनुपर्ने भन्दै विवाद निम्तिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले ‘प्रेमगीत ३’को हिन्दी भर्सनले प्रक्रिया पुर्याएर सेन्सर अनुमति लिन आएको खण्डमा मात्र विकास बोर्डले अनुमति दिने अडान लिएका थिए । अन्ततः भूवन केसीको अडानले काम गरेको छ । यसले, भोलीका दिनमा रिलिज हुने अन्य चलचित्रका लागि समेत थिती बसेको छ ।

अब, भारत र अन्य देशमा जस्तै नेपालमा पनि यो चलचित्रको नेपाली र हिन्दी भर्सन रिलिज हुनेछ । नेपाली भाषाका लागि चलचित्रको सेन्सर भएर बुकिङ पनि खुलिसकेको छ भने हिनदी भर्सनका लागि अब सेन्सरको प्रक्रिया सुरु हुनेछ ।
शुक्रबारदेखि नेपालमा हिन्दी र नेपाली दुबै भर्सनमा चलचित्र रिलिज हुने पक्का देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *