के ‘छक्का पन्जा ४’का निर्माताले अरु निर्मातामाथि बल मिच्याँई गरेका हुन् ?

२ असोज २०७९ ६:०९

चलचित्र ‘छक्का पन्जा ४’का निर्माता दीपकराज गिरीले फागुण १९ लाई प्रदर्शन मिति तय गरे । उनले, फागुपूर्णिमाको अवसर पारेर फागुण १९ रोज्दै गर्दा यो मितिमा ३ वटा चलचित्र आउने पक्का भैसकेको थियो ।

यो मितिमा सबैभन्दा पहिले निर्मात्री शर्मिला पाण्डेले आफ्नो चलचित्र ‘परस्त्री’को प्रदर्शन तय गरेकी थिइन् । यसपछि, यही मितिमा अर्को चलचित्र ‘बर एन्ड बधु’को प्रदर्शन मिति निर्देशक मिलन चाम्सले फाइनल गरे ।

यसपछि, चलचित्र ‘बुलाकी’ यही मितिमा आउने भयो । हुनत, ‘बुलाकी’ले पनि अघिल्ला २ चलचित्र हुँदाहुँदै यही मितिमा प्रदर्शन तय गरेको हो ।

तर, ‘छक्का पन्जा ४’ आउने भएपछि भने मेकरहरु आक्रोशित बनेका छन् । अधिकांशले ब्रान्डको नाममा तर्साउन खोजेको भन्दै यो मितिबाट पछि नहट्ने उल्लेख गरेका छन् । चलचित्र ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारले लेखे–‘तीन–तीन वटा चलचित्र रिलिज मिति पक्का भैसकेको अवस्थामा त्यही मितिमा ‘छक्का पन्जा ४’ रिलिज घोषणा गर्नेलाई के भन्नु ? अझ, नेपाली चलचित्रलाई माया गरौ भन्ने चुतियाहरु । ब्रान्डका नाममा केही गरौं भन्ने चलचित्रकर्मीलाई न तर्साउदा हुन्छ । बुलाकी फागुण १९ ।’

उनले, ‘छक्का पन्जा ४’को टिमले ब्रान्डको नाममा तर्साउन खोजेको आरोप लगाए । अब, चलचित्र ‘परस्त्री’को निर्मात्री शर्मिला पाण्डेले पनि ब्रान्डको नाममा तर्साउन खोजिएको भन्दै आक्रोश पोखेकी छिन् ।

उनले लेखेकी छिन्–‘हामीले सबैभन्दा पहिले फागुण १९ लाई रिलिज तोकेका हौं । अहिले केही चलचित्र पनि सोही मितिमा रिलिज गर्ने भनेर बजारमा हल्ला सुरु गरिएको छ । यो निरन्तर चलचित्र निर्माण गरिरहेको हाम्रो टिमलाई हतोत्साही बनाउन र चलचित्र उद्योगलाई धरासायी बनाउन गरिएको खेल हो । हामी हाम्रो चलचित्रलाई घोषित मितिमै प्रदर्शन गर्ने कुरा जानकारी गराउँछौं । नेपाली चलचित्र प्रदर्शनमा हुने गरेका बल मिच्याँईका बारेमा उचित व्यवस्थापनका लागि विकास बोर्डले गर्ने काम के हो त्यो पनि हामीले नियालिरहेका छौं ।’

यो बिषयमा ‘छक्का पन्जा ४’को टिमले केही पनि बोलेको छैन । एउटै मितिमा ४ वटा नेपाली चलचित्र रिलिज हुँदा त्यसले पक्कै पनि फाइदा गर्दैन । यसैले, यो बिषयमा चलचित्र निर्माता संघले चाडो भन्दा चाडो पहल गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *