‘प्रेमगीत ३’को हिन्दी भर्सनलाई नेपाली फिल्म सरह सुविधा दिनु हुँदैनः फिल्मीकर्मी

३० भदौ २०७९ ९:०३

असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ हिन्दी डबमा पनि रिलिज हुँदैछ । नेपालमा पनि यो चलचित्रको हिन्दी डब रिलिज हुँदैछ । तर, यसका वितरक र निर्माताले भने हिन्दी डबलाई पनि नेपाली भाषा सरह नै सुविधा दिन आग्रह गर्दै विकास बोर्डमा निवेदन वुझाएका छन् । बोर्डमा निवेदन प्राप्त भएपछि आज बोर्डले विभिन्न संस्थाका चलचित्रकर्मीसँग छलफल गरेको छ ।

छलफलका क्रममा चलचित्रकर्मीहरुले हिन्दी डबलाई नेपाली चलचित्रको सरह सुविधा दिन नहुने तर्क गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्काले त यस्तो खालको निवेदन पठाउनु नै देशद्रोही कदम भएको आरोप लगाएका छन् । उनले बोर्डको छलफलका क्रममा भने–‘हिन्दी डबिङको अनुमति दिनलाई नेपाल भारतको प्रान्त होइन । यो बिषयमा त देशद्रोहीको मुद्दा लगाउनुपर्छ ।’

निर्माता संघका महासचिव सुनिल कुमार थापाले पनि यसमा आपत्ती जनाए । उनले, हिन्दी डबलाई नेपाली सरहको मान्यता दिदा गलत नजिर बस्ने बताए । उनले, भोली अन्य निर्माताले पनि यस्तै शैली अपनाउने उनको भनाई थियो ।
यो चलचित्रले डबिङका लागि चलचित्र विकास बोर्डबाट स्विकृती पनि लिएको छैन । यसैले, नेपाली चलचित्र सरह सुविधा दिन नहुने सुनिलको भनाई छ ।

बरिष्ठ अधिवक्ता कृष्णा ढुंगानाले पनि हिन्दी भाषालाई नेपालको भाषा सरह मान्यता नदिएकाले नेपाली भाषा सरह अनुमति दिन नहुने तर्क गरेका थिए ।

चलचित्र विकास बोर्डले अहिलेसम्म यो बिषयमा निर्णय भने गरेको छैन । विशेषगरि, नेपाली चलचित्रको सरह सुविधा दिदा वितरकले तिनुपर्ने १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्दैन । यसैले, वितरक मनोज राठीसहितको टिमले यो निवेदन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *