‘कृ’मा भूमिका काटिएकोमा अदितीको चित्त दुखाई

२४ भदौ २०७९ १३:३३

नायिका अदिती वुढाथोकी आफ्नो दोश्रो चलचित्र ‘बाबरी’ असोजको १४ गतेबाट दर्शकमाझ ल्याउने तयारीमा छिन् । यो चलचित्रको शिर्ष भूमिकामा देखिएकी अदिती उत्साहित छिन् । तर, एकातिर घरकै चलचित्र हुनु अर्कोतिर केही बर्षको अन्तरालपछि दर्शकमाझ आउनु, उनलाई दबाब भने छ ।

अदितीले काम गरेको पहिलो चलचित्र ‘कृ’ हो । यो चलचित्रमा उनले नायक अनमोल केसीसँग जोडी बाँधेकी थिइन् । यो चलचित्रमा अनमोलसँग काम गर्न पाउनु खुशीको कुरा भएपनि अदितीले आफ्नो भूमिका काटिएकोमा भने चित्त दुखाएकी छिन् ।

पहिलो पटक यो बिषयमा हाम्रो सिनेमासँग कुरा गर्दै अदितीले भनिन्–‘मलाई स्क्रिप्ट मन परेपछि साइन गरेको हुँ । तर, चलचित्र साइन गर्दा स्क्रिप्टमा मेरो जुन भूमिका थियो, छायांकनमा जाँदा धेरै काटिएको रहेछ । यो कुराले मलाई धेरै समयसम्म पिरल्यो । चलचित्र चलेको ७ महिनासम्म त म अगाडि बढ्ने कि नबढ्ने भन्नेमै सोचिरहेको थिएँ । तर, पछि होम प्रोडक्शनकै चलचित्रमा काम गर्ने भन्ने सल्लाहा भएपछि अगाडि बढेकी हुँ ।’

अदितीले यो कुराले आफूलाई अहिले त्यती साह्रो असर नगरेपनि चलचित्र चल्ने समयमा निक्कै असर गरेको बताइन् । उनलाई आफ्नो भूमिका किन र के कारणले काटियो भन्ने थाहा छैन । सामाजिक संजालमा २१ लाख फलोअर्स कमाएकी अदिती नेपाली चलचित्रमा काम गर्नुको साथै मुम्बईमा रहेर मोडलिङ पनि गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *