चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ । आज बसेको कार्यसमितीको बैठकले सोमबार सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको हो । प्रदर्शकहरुलाई चौतर्फी आक्रामण भैरहेको र व्यवसाय नै संकटमा परेको भन्दै यस्तो निर्णय गरिएको हो ।
चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले हाम्रो सिनेमासँग भने–‘हामीलाई शो खुलाउन कुनै गाह्रो कुरा नै होइन । तर, प्रदर्शकहरुलाई हिन्दी चलचित्रको मतियार जसरी व्यवहार गरिएको र सरकारले पनि कुनै मागको सुनुवाई नगरेका कारण आजदेखि नै हल बन्द गर्ने कि भन्ने बिषयमा हामी छलफलमा थियौं । तर, सोमबार सांकेतिक रुपमा एक दिन हल बन्द गर्ने निर्णय गरेका छौं । त्यसपछि, पनि मागको सुनुवाई भएन भने लामो हड्तालमा जान्छौं ।’
चलचित्र संघले नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’को शोज नखुल्नुको कारण पनि हड्तालको बिषयमा छलफल भएको बताएको छ ।