हलको भीड नदेखाएसम्म फिल्म नै नचलेको जस्तो हुने रहेछः पूजा शर्मा

२२ भदौ २०७९ ६:४९

नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ शुक्रबारदेखि रिलिज भैरहेको छ । केही हलमा चलचित्रको व्यापार औषत रहेपनि केही हलमा भने सुखद छ । मंगलबार काठमाडौंको एफक्यूब हलमा पुगेकी पूजाले दर्शकको उच्च चापमा केही समय चलचित्र हेरिन् । दर्शकसँग प्रतिक्रिया लिएपछि मिडिया कुराकानीमा पूजाले चलचित्रको व्यापारलाई लिएर आएका खबरहरुमा आपत्ती जनाइन् ।

उनले भनिन्–‘यहाँ त हलमा पुगेर दर्शकको भीड नदेखाएसम्म चलचित्र नै नचलेको भन्ने हल्ला गरिदोरहेछ । हामीले शुक्रबार र शनिबार दर्शक आएपछि आइतबारदेखि आराम गरेका थियौं । तर, बजारमा चलचित्र नै नचलेको हल्ला गरेपछि फेरि हल आउनु परेको हो ।’

पूजा चलचित्र निर्माणलाई लिएर समेत केही निराश देखिइन् । पूजाले, चलचित्र बनाएर चलाउन गाह्रो हुने र चलचित्रकर्मीहरुबाट नै साथ नपाइने गरेको गुनासो गरिन् । उसो त, नेपाली चलचित्र क्षेत्रमा एउटाको चलचित्र चल्दा अर्कोले कुरा काट्ने र चलचित्रलाई सक्ने खेल हुने गर्छ । यसैले, पनि यो क्षेत्रमा एकता नहुँदा यसको फाइदा बाहिरी चलचित्र लिइरहेका छन् ।

पूजाले चलचित्रले केही हलमा औषत व्यापार गरेपनि केही हलमा भने सुखद व्यापार गरिरहेको तर्क गरिन् । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पूजा शर्मा, सोनम तोप्देन र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *