प्रदीप भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ विदेशमा पनि नियमित शोमा प्रदर्शन हुने भएको छ । यो चलचित्र अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, यूरोप, कोरिया र मध्य पूर्वका देशहरुमा एकसाथ रिलिज हुँदैछ । यी मध्ये अमेरिका र अष्ट्रेलियामा चलचित्रलाई नियमित शोमा रिलिज गर्ने तयारी गरिएको हो । एमएसएस इभेन्ट्सले अष्ट्रेलिया र नेपाल ११ इन्टरटेन्मेन्ट एलएलसीले अमेरिका राइट्स महंगो रकममा किनेको छ ।
प्रदीप भट्टराईका अघिल्ला ३ चलचित्रले दर्शकलाई निराश नबनाएका कारण पनि अष्ट्रेलियामा ‘महापुरुष’को माग उच्च भएको एमएसएस इभेन्ट्सले जनाएको छ । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाले नियमित शोमा नै चलचित्र देखाउने भएपछि वितरण कम्पनीसँग सहकार्य गरिएको बताए ।
अमेरिकामा नेपालमै रिलिज हुने दिन कार्तिक ११ बाट ३० शोको हारहारीमा प्रदर्शन गरिनेछ । चलचित्रको अमेरिका र अष्ट्रेलिया अधिकार ५०–५० लाखमा विक्री भएको निर्माणपक्षले बताएको छ । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ लगायतका कलाकारको अभिनय छ ।
दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी गुरुङको सम्पादन छ । म्याक्स दीपेश खत्री निर्माता रहेको चलचित्रलाई षट्कोण आट्र्सको ब्यानरमा तयार पारिएको हो ।