निर्वाचनमा होमिदै रेखा, सेलिब्रिटी क्रेज राजनीतिमा देखिएला ?

१९ भदौ २०७९ ७:१८

नायिका रेखा थापाले एक दशक भन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा राम्रै हालिमुहाली गरिन् । रेखालाई नायकहरुसँग पनि टक्कर लिन सक्ने एक मात्र नायिकाको रुपमा लिइयो । बक्स अफिसमा उनका चलचित्रले बम्पर व्यापार गरे । रेखाको अनुहारले मात्र पनि दर्शकलाई हलसम्म गज्जबले तान्यो ।

चलचित्रमा विस्तारै क्रेज कमजोर हुँदै गएपछि रेखा राजनीतिमा प्रवेश गरेकी छिन् । उनी, राजनीतिमा प्रवेश गरेसँगै अब निर्वाचनमा होमिने तयारीमा समेत छिन् । नेपाली चलचित्र क्षेत्रमा आम दर्शकमाझ सर्वाधिक परिचित कलाकारमात्र पर्छिन् रेखा । रेखाको सेलिब्रिटी क्रेज अब राजनीतिमा परिक्षा दिदैछ ।

रेखा मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाको तर्फबाट चुनाव लड्ने तयारीमा छिन् । रेखा अब हलमा होइन, संसदमा छिर्न चाहन्छिन् । यसका लागि उनले तयारी समेत थालेकी छिन् । रेखाले गठबन्धन दल र नेकपा एमालेका नेताको विरुद्धमा निर्वाचन लड्नुपर्नेछ । यसैले, उनका लागि यो सहज भने छैन । तर, रेखा आफूले जित्ने दाबी गरिरहेकी छिन् ।

रेखा सलकपुर, मोरङमा जन्मिएकी हुन् । यसैले, पनि मोरङका बासिन्दा उनीसँग अझै नजिकबाट परिचित छन् । रेखा आफूलाई स्टार बनाउने जन्मथलोलाई राजनीतिबाट योगदान दिन चाहन्छिन् ।

नेपालमा चलचित्र सफल भएका कमै मात्र कलाकार राजनीतिमा पनि सफल छन् । राजनीतिमा लागेपछि असफल भएर हराएका थुप्रै उदाहरण छन् । नेपाली चलचित्रकर्मी हिम्मतवाली रेखा राजनीतिमा कती सफल होलिन् हेर्न बाँकी छ । जनताले उनलाई चलचित्रमा दिए जस्तै माया राजनीतिमा पनि देलान् त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *