‘सम्हालिन्छ कहिले मन’ले फर्कायो हलमा दर्शक, पूजा, आकाश र सोनमको यस्तो क्रेज(भिडियो)
१८ भदौ २०७९ १३:१२
हिजो शुक्रबारदेखि रिलिज भएको लभ स्टोरी चलचित्र ‘सम्हालिन्छ कहिले मन’ले शनिबार बम्पर व्यापार गरेको छ । शनिबार यो चलचित्रले काठमाडौंका अधिकांश हलमा बिहानैदेखि बम्पर कारोबार गरेको वितरक एवी प्रोडक्शनले जनाएको छ ।
शनिबार काठमाडौंको अष्टनाराण हलमा चलचित्रका मुख्य कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन पुग्दा दर्शकको ठुलो भीडले उनीहरुलाई घेरेको थियो । चलचित्र हेरेका अधिकांश दर्शकले यसको कथावस्तुले रुवाएको बताए ।
सुदर्शन थापा निर्देशित चलचित्रले काठमाडौंको चाबहिलमा रहेको एफक्यूब हलमा बिहानैदेखि हाउसफूलको व्यापार गर्यो । दर्शक ओभरफ्लो भएपछि हलमा नयाँ शो समेत थपिएको थियो ।
काठमाडौंको बीएसआरका संचालकले पनि ‘कबड्डी ४’ पछि हलमा दर्शक फर्किएको बताए । उनले, दर्शक नआएर हल सुनसान भैरहेको समयमा यो चलचित्रले फेरि दर्शकलाई हलसम्म ल्याउन सफल भएको प्रतिक्रिया दिए ।
लभ स्टोरी यो चलचित्रको गीत सुपरहिट भैसकेको थियो । चलचित्र ‘संझना विर्सना’ नचल्दा पूजाको क्रेज खस्कियो भन्ने टिप्पणी भएको थियो । तर, पूजाले फेरि एकपटक आफ्नो स्टारडम पुष्टी गरेकी छिन् । हलमा नव–नायक सोनम तोप्देनलाई समेत दर्शकले माया दिएका थिए । उनको कामबाट प्रभावित भएको दर्शकको भनाई थियो ।