विकास बोर्डले गर्यो ‘प्रेमगीत ३’लाई सम्मान, भुवनले गरे यस्तो प्रतिबद्धता

१२ भदौ २०७९ १३:३०

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको केही हप्तापछि भुवन केसीले चलचित्रकर्मीलाई प्रोत्साहन सुरु गरेका छन् । २ बर्षमा चलचित्र क्षेत्रले संझनलायक काम गर्ने प्रतिबद्धता जाहेर गरेका भुवनले हिन्दी भाषामा समेत रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’को निर्माणपक्षलाई सम्मान गरेका हुन् । उनले, विकास बोर्डबाट प्रोत्साहन मिलोस् र आगामी दिनमा काम गर्ने इच्छा अझै बढोस् भनेर सम्मान गरिएको बताए ।

विकास बोर्डले गरेको सम्मान कार्यक्रममा निर्देशक तथा निर्माता सन्तोष सेन, नायक शिव श्रेष्ठ, कलाकार सुनिल थापा, प्रेम पुरी, मनिष राउत लगायत उपस्थित थिए ।

यो चलचित्र हिन्दी भाषामा पहिलो पटक भारतमा पनि रिलिज हुँदैछ । वुद्धको मुर्तीसहित सम्मान गरेपछि अध्यक्ष भुवन केसीले भने–‘मलाई सधै नै नेपाली चलचित्र विदेशी बजारमा पुग्नुपर्छ भन्ने सोच थियो । निर्देशक सन्तोष सेन र उनको टिमले यसको लागि प्रयास गरेकोमा निक्कै खुशी लागेको छ । यो चलचित्रका लागि विकास बोर्डले गर्ने सबै सहयोग गर्न हामी तयार छौं ।’

कार्यक्रममा बोल्दै निर्देशक सन्तोष सेनले विकास बोर्डको प्रेरणाले उर्जा मिलेको बताए । नेपाली चलचित्रलाई विदेशी बजारमा लैजान फुटेर नभई एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो । उनले, यो चलचित्रलाई भारतका हलसम्म रिलिज गर्नका लागि निक्कै दुःख समेत गरिएको भन्दै भारतमा पनि नेपाली चलचित्रको चर्चा हुन थालेको बताए ।

कार्यक्रममा चलचित्रका मुख्य नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ भने अनुपस्थित थिए । असोजको ७ गतेबाट यो चलचित्र विश्वभर रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *