‘राधा’मा श्रृष्टीको बेजोड काम, तर कस्तो छ फिल्म ?

९ भदौ २०७९ १६:००

गत साता ‘माइकल अधिकारी’ । यो साता ‘राधा’ । नायिका श्रृष्टी श्रेष्ठका २ चलचित्र हेरेपछि एउटा कुरा स्पष्ट रुपमा के भन्न सकिन्छ भने, अभिनयका हिसाबमा मुल्यांकन गर्ने हो भने श्रृष्टीले नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गर्नेछिन् ।
अझ, ‘माइकल अधिकारी’मा देखाउन नपाएका कैयौं अभिनयका रंगहरु श्रृष्टीले यो चलचित्रमा देखाएकी छिन् । भोली शुक्रबारदेखि रिलिज हुन लागेको १ घन्टा ५७ मिनेट लामो चलचित्र श्रृष्टीकै वरिपरी घुमेको छ ।

‘मिस नेपाल’को उपाधि जितेपछि कही कतै रुमल्लिएकी श्रृष्टीलाई दर्शकले श्रृष्टी श्रेष्ठ भनेर चिनेका हुन् । सायद, ‘राधा’ चलेपछि श्रृष्टीको परिचय फेरिनेछ ।

मामाले आफ्नै उमेरको यूवासँग बिहे गरिदिने निर्णय गरेपछि घरबाट भागेकी राधाको भेट सौगात मल्लसँग हुन्छ । ड्राइभर पेशा अंगाल्दै आएका सौगात र श्रृष्टीविच प्रेमको मुना पलाउँछ । तर, एकाएक सौगात गायब । फोन सम्पर्क पनि हुँदैन । राधाको गर्भमा भने यी दुईको मायाको मुना पलाउन थाल्छ ।

आफ्नो श्रीमान् जिउँदै छन् भन्ने आत्मविश्वासमा एउटा महिलाले गरेको संघर्षको कथा हो ‘राधा’ ।

यो चलचित्रको गति एउटै छ । चलचित्रका हरेक दृश्यमा दर्शकले राधाको पीडा, खुशी, वेदना र श्रीमान्प्रतिको प्रेम महशुश गर्छन् । चलचित्रको पहिलो हाफ स्लो छ । हुनत, सुवर्ण थापा फेस्टिभल केन्द्रित चलचित्र बनाउन रुचाउँछिन् । यसैले, उनले यो चलचित्रलाई गति दिन समय लगाएका छन् ।

तर, उनको गति अनुसार नै दर्शक बग्न सकेको खण्डमा श्रृष्टी श्रेष्ठले बाँधेर राखेकी छिन् । दोश्रो हाफमा चलचित्रको गति खासै दौडदैन, तर राधाको मनको बेग दौडन्छ । सोही बेगमा दौडिएर कहिले आशा, कहिले निराशाको खेल खेल्दै राधा श्रीमान्को प्रतिक्षा गरिरहन्छिन् । घरबारविहिन यी महिलामा हिम्मत मर्दैन । बरु, नयाँ जिन्दगीलाई अगाडि बढाउन उनले चालेको हिम्मतले मन छुन्छ ।

जिन्दगीका हरेक प्रहर बाँचेकी उनले सुख कहिले पनि पाइनन् । तर, दुःख पाएकी छु भनेर हिम्मत पनि हारिनन् । यसैले, यो चलचित्र हेरेपछि ‘राधा’ श्रृष्टीकै लागि लेखिएको थियो भन्ने सबैलाई लाग्छ ।

चलचित्रलाई कमर्सियल फर्मुलामा हेर्न चाहने दर्शक करिब २ घन्टा हलमा होल्ड हुन गाह्रो हुन सक्छ । तर, चलचित्रकी मुख्य पात्र राधाले आफ्नो जिन्दगीलाई हरेक परिस्थितीमा होल्ड गरे जसरी दर्शक पनि एकाग्र भएर चलचित्र हेरे भने कथाले मन छुन्छ । बाँकी भोलीबाट चलचित्र चल्दैछ, निर्णय गर्ने जिम्मा पाठकको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *