चलचित्र ‘प्रसाद २’का प्रस्तुतकर्ता सुभाष थापाले नायक विपिन कार्की विरुद्ध २ संस्थामा उजुरी दिएका छन् । उनले, आज चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघमा विपिन कार्कीसँग काम गर्ने सहज वातावरण बनाइदिन आग्रह गर्दै उजुरी दिएका हुन् ।
चलचित्र ‘प्रसाद २’को मुहुर्तकै दिनमा विपिनले छायांकन सेट छाडेर हिडेको भन्दै थापाले हाम्रो सिनेमासँग भने–‘हाम्रो चलचित्र छायांकन नहुँदै १ करोड सकिएको छ । सबै तयारी भैसकेपछि छायांकन नहुँदा हामीलाई ठुलो रकम घाटा भैसकेको छ । त्यसपछि पनि विपिनजी हाम्रो सम्पर्कमा आउनु भएको छैन । यसैले, संघसंस्थालाई गुहार्नुको विकल्प हामीसँग भएन ।’
उनले, संघसंस्थाको रोहबरमा बसेर कुरा गर्दा दुबै पक्षलाई फाइदा हुने भन्दै उजुरी दिइएको बताए । भने–‘छायांकनबाट फर्किएपछि अब काम गर्ने वा नगर्ने भन्ने पनि उहाँले भन्नुभएको छैन । हामीले त प्राविधिकदेखि सबैलाई पारिश्रमिकको केही रकम दिइसकेका छौं । मेरो, निर्देशक सुदर्शन थापाको र लेखक सुशिल पौडेलको पनि उहाँ फोन उठाउनुहुन्न । बरु, अरु चलचित्र साइन गर्दै हिड्नुभएको छ । यसैले, संघसंस्थाले पहल गरेपछि कुरा फाइनल हुन्छ भनेर नै उजुरीमा जानु परेको हो ।’
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन सुरु हुने दिन नै कलाकार विपिन कार्कीले लफडा निकालेपछि काम रोकिएको निर्माणपक्षले बताउँदै आएको छ । विपिनले भने चलचित्र नै राम्रो होस् भन्नका लागि आफूले केही कुरा उठाएको बताउँदै आएका छन् ।