प्रदीप भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’को टिमले डेब्यू कलाकार अरुण क्षेत्रीलाई दर्शकमाझ चिनाएको छ । आज सार्वजनिक गरिएको फस्टलुकमा अरुण र मुख्य कलाकार हरिवंश आचार्यलाई देखाइएको छ । अरुणले बाइक कुदाउँदै गर्दा हरिवंश भने उनको पछाडि बसेको देख्न सकिन्छ । यो चलचित्रमा अरुणले विज्ञानको भूमिका निर्वाहा गरेका छन् । चलचित्रमा उनी हरिवंशका कान्छा छोराको रुपमा देखिने पनि निर्माणपक्षले बताएको छ ।
अरुणले चलचित्रमा काम गर्ने सपना बोकेसँगै निर्देशक भट्टराई र निर्माता रविन्द्र सिंह बानियाँसँग काम गर्ने सोच आफूले बनाएको बताए । निर्माता तथा कलाकार बानियाँले पनि हरिवंश आचार्यसँग अडिसन दिदा अरुणमा आत्मविश्वास देखिएकाले चलचित्रमा लिएको बताएका छन् ।
सामाजिक कथावस्तुमा निर्माण भएको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अन्जना बराइली, रविन्द्र सिहं बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु बिष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसकार लगायतका कलाकारको अभिनय छ ।
यो चलचित्रले समाजले कसरी एउटा मानिसलाई महापुरुष बनाउँछ भन्ने कथालाई प्रस्तुत गरेको छ । षट्कोण आटर््स प्रा.लिको ब्यानरमा निर्मित चलचित्रमा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताको रुपमा छन् । दिपेश खत्री निर्माता रहेको चलचित्रमा नवराज पराजुली र ऋदम कँडेलको संगीत, दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्र कार्तिकको ११ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुँदैछ ।