जहाँ खिचियो ‘प्रकाश’, त्यहीका जनतामाझ प्रोजेक्टरमा देखाइयो फिल्म

६ भदौ २०७९ ७:४९

नायक प्रदीप खड्का र लेखक विकास सुवेदी चलचित्र ‘प्रकाश’को पहिलो प्रिमियर जुम्लामा गर्न पाउँदा निक्कै खुशी देखिए । किनकी, साढे १ महिना लगाएर यो चलचित्रलाई जुम्लामै खिचिएको हो । आइतबार साँझ हल नै नभएको जुम्लाको पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको परिसरमा चलचित्रको प्रिमियर गरिएको हो । हल र विजुली बत्ती नै नभएको स्थानमा प्रोजेक्टर र जेनेरेटर लगेर स्थानीय बासीसँग भूँइमा नै बसेर प्रदीपले चलचित्र हेरेका थिए ।

यी दुबैलाई स्थानीयबासीले झाँकी र स्थानीय सस्कार अनुसार फुलमाला र फेदा लगाइदिएर स्वागत गरेका थिए । भदौको १० गतेबाट यो चलचित्र विश्व बजारमा रिलिज हुँदैछ ।

यो फिल्मको छायांकन ४५ दिनसम्म तिर्खु गाँउमा नै गरिएको हो । निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहनसहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानिय जनता माझ फिल्मको प्रिमियर गरिएको बताए । प्रिमियरमा उपस्थित स्थानीय जनताहरुले आफ्नो भोगाई चलचित्रमा हेर्न पाएको भन्दै प्रशंसा गरेका थिए । प्रिमियर पछि एक स्थानियले फिल्म हेर्दै गर्दा आफ्नै भाइ–छोरा, छोरी, आमालाई नै पर्दामा देखेको जस्तो अनुभुति भएको प्रतिक्रिया दिए ।

धेरै स्थानिय बासिन्दाले आफुहरुले भोग्दै आएको वर्ग विभेद चलचित्रमा प्रष्टसँग देख्न पाइएको पनि बताएका छन् । राज्यबाट उपेक्षित हुनु परेको भन्दै उनीहरुले आफुहरुको वास्तविक जीवन शैली बुझ्न पनि फिल्म हेरिदिन आग्रह गरे ।

स्थानियको प्रतिक्रिया पछि नायक प्रदिप खड्काले ‘प्रकाश’को प्रिमियर आफ्ना लागि सम्झन योग्य क्षण भएको बताएका छन् । उनले फिल्मलाई स्थानीयले दिएको मायाले उत्साहित बनाएको बताए ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *