‘लाइगर’ बिहिबार रिलिजबारे बोर्ड अध्यक्ष भन्छन्–‘हामीसँग अधिकार छैन, तर प्रयास गर्छु’

६ भदौ २०७९ ७:४१

हिन्दी चलचित्र ‘लाइगर’ विश्वव्यापी रुपमा बिहिबार रिलिज हुँदैछ । जसकाकारण, नेपालमा पनि यो चलचित्र बिहिबार नै रिलिज हुँदैछ । तर, यो चलचित्र रिलिज भएको भोलीपल्ट नियमअनुसार २ नेपाली चलचित्र रिलिज हुँदैछन् । यसैले, पनि बिहिबार नै बिदेशी चलचित्रले हल ओगट्दा शुक्रबारदेखि रिलिज हुन लागेका २ नेपाली चलचित्रलाई मात्र होइन, शुक्रबारदेखि रिलिज भएका ३ नेपाली चलचित्रलाई पनि असर गर्नेछ ।

तर, बिहिबार रिलिज हुन लागेको हिन्दी चलचित्रलाई रोक्ने अधिकार चलचित्र विकास बोर्डसँग छैन । यदि, बोर्डले चलचित्र रोकिहाल्यो भने पनि अदालतबाट स्टे अर्डर ल्याएर वितरकले चलचित्र रिलिज गर्ने पक्का छ । यसअघि पनि यस्ता घटना नदेखिएको होइन ।

केही साता अगाडि मात्र विकास बोर्ड अध्यक्षमा नियुक्त भएका बोर्ड अध्यक्ष भूवन केसीलाई ‘लाइगर’को बिहिबार रिलिज रोकेर हिरो बन्ने अवसर आएको भन्ने खालका समाचार सार्वजनिक भैरहेका छन् ।

तर, यस बिषयमा हाम्रो सिनेमासँग कुरा गर्दै बोर्ड अध्यक्ष केसीले भने–‘मलाई यो बिषयले पक्कै पनि ध्यान तानेको छ । तर, विकास बोर्डसँगै सेन्सर भैसकेको चलचित्रको रिलिज रोक्ने अधिकार नै छैन । यो बिषयमा म मन्त्रालय र मन्त्रीज्यूसँग कुरा गरेर नीति ल्याउने बिषयमा पहल अवश्य गर्नेछु ।’

अध्यक्ष केसीले त, नेपाली चलचित्रका निर्माताले पनि कुनै दिन चलचित्र रिलिज गरेको खण्डमा आफूले समर्थन गर्ने बताए । उनले भने–‘नेपाली चलचित्र क्षेत्रलाई फाइदा हुने गरि नियम बनाएर काम गर्न पाएँ हुन्थ्यो भन्ने मलाई लागेको छ । यसका लागि म काम सुरु पनि गर्छु । तर, यसका लागि केही समय भने लाग्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *