आँचल भन्छिन्–‘६ बर्ष मैले कामै गरेको छैन, ‘झिङ्गे दाउ’ मेरो डेब्यू फिल्म हो’(भिडियोसहित)

६ भदौ २०७९ २:३०

नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट ६ बर्ष अगाडि चलचित्र क्षेत्रमा डेब्यू गरिन् । यो चलचित्र चलेपछि आँचल पनि चलिन् । यसपछि, रिलिज भएका आँचलका केही चलचित्र चले, केही चलेनन् । तर, आँचलको कामको तारिफ कमै मात्र भयो । उनले अभिनय गरेका ‘जोनी जेन्टलम्यान, ब्ल्याक’ लगायतका चलचित्र असफल भए । ‘शत्रु गते र दाल भात तरकारी’ले राम्रो व्यापार गरेपनि उनी भिडबाट साइड लागिन् ।

यसैले, आजका दिनसम्म आँचलले चलचित्र क्षेत्रमा आएर नाम त राम्रै बनाएकी छिन् तर काम खुलेर देखाउन सकेकी थिइन् । उनै, आँचलको मुख्य भूमिका रहेको चलचित्र ‘झिङ्गे दाउ’ भदौको १७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा आँचलले पहिलो पटक करिब ५० बर्ष अगाडिको नेपाली समाजकी एक बुहारीको भूमिकामा काम गरेकी छिन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो चलचित्रमा आँचल आशावादी मात्र होइन, ढुक्क पनि छिन् ।

तर, यसो भन्दै गर्दा आँचलले लकडाउन अगाडिको आफ्नो विगत संझिइन् । उनले भनिन्–‘मलाई लकडाउन अगाडि चलचित्रमा अभिनय गर्दा पनि काम गरे जस्तो लाग्थ्यो । सेटमा गएपछि ज्ञानेन्द्र दाईसँग संवाद माग्थे र बोल्थेँ । राम्रो भए हुन्छ, नभएपनि अरु केही गरौला भन्ने सोच आउथ्यो । तर, अहिले मेरो सोच परिवर्तन भएको छ । अरु मलाई केही पनि आउँदैन, मैले अभिनय नै गरेर जीवन चलाउने हो भन्ने लाग्छ ।’

यसो भन्दै गर्दा आँचलले यो चलचित्रलाई आफ्नो डेब्यू चलचित्र जस्तो भन्न समेत भ्याएकी छिन् । उनले भनिन्–‘मैले, ६ बर्ष त काम नै गरेको छैन जस्तो लाग्छ । मेरो यो डेब्यू चलचित्र हो भन्ने लागेको छ । मेरा लागि यो नयाँ जन्म हो । कलाकारितालाई सोच्ने हिसाब पनि मेरो परिवर्तन भएको छ ।’

आँचलले कोरोनापछि पनि आफूले पुरानै शैलीमा काम गरेको खण्डमा अरुले उछिन्छन् भन्ने वुझिन् । उनी भन्छिन्–‘पहिले २ वटा आलू पोलेर दिदा पनि म खुशी हुन्थेँ । तर, अहिले मलाई २ वटा होइन ४–५ वटा नै चाहिन्छ ।’ आँचलले चलचित्र हिट हुन्छ भनेर सोच्दै गर्दा फ्लप भयो भने पनि आफ्नै नाम आउँछ भनेर तयार भएको समेत सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *