जनैपूर्णिमा हिन्दीलाई छाडेका फिल्मीकर्मी कृष्ण जन्माष्टमीमा भिड्दै

३ भदौ २०७९ ५:४४

गत साता २ दिन सार्वजनिक बिदा पर्यो । तर, बलिउडका दुई ठूला भनिएका चलचित्र रिलिज भएपछि नेपाली चलचित्रका निर्माताले गत साताको शुक्रबार चलचित्र रिलिज गर्ने आँट नै गरेनन् । बरु, गत साता चलचित्र नचलेपछि यो साता ३ नेपाली चलचित्रविच भिडन्त भएको छ ।

आजबाट रिलिज भएका चलचित्रहरुमा ‘कृष्णलीला, प्रेमगञ्ज र माइकल अधिकारी’ हुन् । यी तिनै चलचित्रले मल्टिप्लेक्समा सुखद शो नै पाएका छन् ।

तर, बुकिङ र बिहानी शोको व्यापार हेर्ने हो भने तीनै वटा चलचित्रको सुखद भने छैन । आज बिदाको दिनमा पनि चलचित्रको व्यापार बिहानैबाट उत्साहप्रद नहुनु दुःखद कुरा हो । हेरौ, वर्ड अफ माउथले मध्यान्नबाट चलचित्रको व्यापार बढ्छ या बढ्दैन ।

दीपक वलीको निर्देशनमा तयार भएको ‘कृष्णलीला’ नामक चलचित्र प्रेमकथामा निर्माण भएको छ । नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई शिर्ष भूमिकामा राखेर यो चलचित्र बनेको छ । अटिजम भएको एक यूवा र एक यूवतीको प्रेम कथामा चलचित्र बनेको छ ।

लभ स्टोरी धारमा नै बनेको अर्को चलचित्र हो, ‘प्रेमगञ्ज’ । प्रिमियरमा ‘मास्टरपिस’ भनेर तारिफ पाएको यो चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बाँनिया, राइडर प्रशान्त, सिम्रन खड्का लगायतको अभिनय छ ।

यस्तै, श्रृष्टी श्रेष्ठ र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’ पनि आजबाट रिलिज भएको छ । रञ्जित रौनियारको निर्देशनमा तयार भएको यो चलचित्रले सेरोगेसीको कथा भन्छ । आर्थिक अभावका कारण कोख भाडामा दिएकी एक महिलाको कथा यो चलचित्रले भन्छ ।

चलचित्रको त्रिकोणात्मक भिडन्त पक्कै पनि सुखद होइन । तर, आज र भोलीको बिदाले राम्रो चलचित्र हेर्ने दर्शकले छानेरै चलचित्र हेर्न भने पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *