नपत्याउने खोलाले बगायोः मास्टरपीस छ ‘प्रेमगञ्ज’

१ भदौ २०७९ २:०४

कुनै पनि निर्माता–निर्देशकले यदि चलचित्रको प्रिमियर रिलिजको ३–४ दिन अगाडि नै गर्ने हिम्मत राख्छ भने, पक्कै पनि उसलाई चलचित्रप्रति आत्मविश्वास छ भनेर वुझ्न सकिन्छ । मंगलबार बेलुका काठमाडौंको आईप्लेक्स मलमा रहेको वान सिनेमाज्मा चलचित्र ‘प्रेमगञ्ज’को प्रिमियर आयोजना गरियो । हलमा खचाखच भरिएका चलचित्रकर्मी, पत्रकार र विभिन्न क्षेत्रमा मानिसहरुले ३ घन्टा चलचित्र हेरे ।

यो चलचित्रलाई वितरक, दर्शक र चलचित्रकर्मीले पनि खासै वास्ता गरेका छैनन् । कारण, औषत चलेका र अधिकांश नयाँ कलाकारको टिम, नयाँ निर्देशक आदि कारणले पनि हुनसक्छ ‘प्रेमगञ्ज’ माथि धेरैको आँखा परेको छैन ।

हलमा छिर्नु अगाडि ३ घन्टासम्म एउटा निर्देशकले कस्तो कथा देखाउन खोजेका होलान् भन्ने लाग्छ । तर, ३ घन्टा पुरा चलचित्र हेरिरहँदा नेपाली चलचित्रले एउटा गज्जबको निर्देशक र स्टोरी टेलर पाउँछ, परिच्छेद सेन ।

परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्र तीन पात्रको प्रेम कथा हो । उनीहरुको उमेरको २ कालखण्डलाई परिच्छेदले कथामा बगाएका छन् । चलचित्रको पहिलो हाफमा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काको त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ ।

दोश्रो हाफमा यीनै पात्रहरु बेनिशा हमाल, तेज गिरी र सम्पदा बाँनियाको रुपमा अगाडि बढ्छन् । कुनै एक व्यक्तिले प्रेमका लागि कुन हदसम्मको त्याग गर्न सक्छ र उसले मायामा आफूलाई कतीसम्म डुबाउन सक्छ भन्ने कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।

पहिलो हाफमा केही दृश्यहरु बारम्बार दोहोरिएका छन् । जसलाई, निर्देशकले रिलिज अगाडि नै सम्पादन गर्ने वाचा गरेका छन् । दोश्रो हाफ पर्फेक्ट छ । तेज र बेनिशाको प्रेमकथामा दर्शक कैयौं पटक भक्कानिन्छन् । चलचित्रको बलियो पाटो यसको क्लाइमेक्स पनि हो ।

गीतसंगीतलाई दृश्यको माग अनुसार प्रयोग गरिएको छ । संजय लामाको खिचाई उत्कृष्ट छ । अभिनयका हकमा सबै पात्र उत्कृष्ट छन् । बेनिशा हमाल दर्शकका लागि सरप्राइज हुन सक्छिन् । राइडर प्रशान्तले संभावना बोकेका छन् । सिम्रन खड्का चलचित्र क्षेत्रका लागि अर्को संभावना बोकेकी कलाकारको रुपमा उदाएकी छिन् ।

तेज गिरीको लभ स्टोरी चलचित्रमा उदय भएको छ । त्यो भन्दा पनि बढी, नेपाली चलचित्रले लभ स्टोरी कथालाई एउटा गतीमा भन्न सक्ने निर्देशकको रुपमा परिच्छेद सेनलाई पाएको छ ।

यो चलचित्रले व्यापार कस्तो गर्छ भन्न सकिने अवस्था छैन । तर, ‘नपत्याउने खोलाले बगाउँछ’ भने जस्तै यो चलचित्र ‘मास्टरपिस’ बनेको छ । प्रेमको गहिराईमा ३ घन्टा डुबेर यो चलचित्र हेर्नुभयो भने, तपाइको दिमाग केही दिन पक्का हल्लिनेछ । सम्पूर्ण टिमलाई बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *