‘बाबरी’को कमर्सियल ट्रेलरमा खड्किएका केही कुरा

३० साउन २०७९ १४:४०

निर्देशक सुरेन्द्र पौडेल यसपटक धेरै नै चुनौती मोलिरहेका छन् । अघिल्लो चलचित्र ‘कृ’ले आलोचना बढी भोगेपछि सुरेन्द्र करिअरको दोधार मोडमा छन् । यो चलचित्र नचलेको खण्डमा उनलाई गाह्रो पर्न सक्छ । यसैले, आफ्नो अनुभवदेखि चलचित्रमा हुनुपर्ने व्यापारिक महत्व सबै उनले झल्काउने प्रयास गरेका छन् । आज सार्वजनिक भएको चलचित्रको ट्रेलरमा पनि उनले दर्शकलाई दशैंको समयमा मनोरञ्जन दिन सक्ने सबै खुराक राखेका छन् ।

अदिती वुढाथोकी, धिरज नाडकर, धिरज मगरको त्रिकोणात्मक प्रेमकथामा सुरेन्द्रले मसला भरेका छन् । जसलेगर्दा, चलचित्रको ट्रेलर हेर्दा एकपटक चलचित्र हेर्न जाने रहर दर्शकमा पलाउन सक्छ ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको लगानीमा तयार भएको चलचित्रको ट्रेलरमा धिरजको फरक रुप, उनको आवाज, अदितीको जिद्दी र मायालु रुप, नयाँ कलाकार धिरज नाडकरको बोलीको स्वाद दर्शकलाई मिठो लाग्न सक्छ ।

यस्तै, चलचित्रको गीतले बजारमा तहल्का मच्चाइसकेकाले पनि सुरेन्द्र र उनको टिमलाई फाइदा हुने नै भयो । नेपाल र सिक्किमका रमणीय दृश्य, गाउँ परिवेश झल्कने कथा, तिन जना कलाकारको प्रेम आदिले पनि प्रेमको कथामा रमाउन चाहने दर्शकले यो चलचित्रलाई माया गर्न सक्छन् ।

तर, चलचित्रको ट्रेलरमा सुरेन्द्रले संवाद बढी थोपरेका छन् । लामा संवाद र अनावश्यक दृश्यहरु बढी थोपर्दा ट्रेलर कमर्सियल त बनेको छ, तर अझै आकर्षक बन्न सकेको छैन ।

दिर्घ खड्काले काटेको ट्रेलरमा चाहिने कुरा नराखिएको र अनावश्यक केही दृश्य राखेको देखिन्छ । ट्रेलरमा सबै कुरा त अटेको छ, तर ट्रेलर सकिदै गर्दा चलचित्रमा के हुन्छ र के देखाउन खोजिएको हो भन्ने दर्शकले सहजै बुझ्न सक्छन् । ट्रेलर निर्माणमा निर्देशक केही हदसम्म चुकेपनि व्यवसायिक धारमा ढाल्नका लागि भने भरपुर मिहिनेत गरेको देखिन्छ ।

असोजको १४ गते दशैंको बिदामा यो चलचित्र हेरेर दर्शक रमाउन सक्छन् । यसैले, भदौ ३१ गतेबाट असोज १४ को मुभलाई नराम्रो भन्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *