ज्योतिषको भविष्यबाणीलाई समेत चुनौती दिदै स्टार बनेका पुष्प खड्का(भिडियोसहित)

२९ साउन २०७९ ८:५५

नायक पुष्प खड्काले पहिलो चलचित्रको रुपमा सहायक कलाकार भएर ‘अझै पनि’मा काम गरे । यो चलचित्र बक्स अफिसमा चलेन । नायकको रुपमा उनले चलचित्र ‘दर्पण छाया २’बाट डेब्यू गरे । बक्स अफिसमा त यो चलचित्र झन् सुपर फ्लप भयो ।

तर, उनले आफ्नो जिद्दीपना छाडेनन् । यही जिद्दीपना र मिहिनेतका कारण आज पुष्प नेपाली चलचित्र क्षेत्रको सर्वाधिक व्यस्त स्टार बनेका छन् । धेरै कलाकारको राष्ट्रपतिको हातबाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ थाप्ने सपना हुन्छ, पुष्पले त्यो अवार्ड प्राप्त गरिसके ।

यसका लागि उनले गरेको मिहिनेत कम छैन । पुष्पले ज्योतिषको भविष्यवाणीलाई समेत चुनौती दिएर यो क्षेत्रमा आएका हुन् ।

पुष्प भन्छन्–‘मलाई कसैले पनि एसएलसी पास गर्छ भनेर भनेका थिएनन् । तर, सेकेन्ड डिभिजनमा पास गरेँ । चलचित्र क्षेत्रमा जानुपर्छ भनेर त मलाई कसैले पनि सुझाव दिएका थिएनन् । यसैले, एक दिन ज्योतिषकोमा चलचित्र क्षेत्र फाप्छ कि फाप्दैन भनेर हेराउन पनि पुगेँ । ज्योतषिले पढाई राम्रो भएकाले पढेर विदेश जान भने । यतिमात्र होइन, कला क्षेत्रमा भविष्य सुखद नभएको भविष्यबाणी समेत ज्योतिषेल गरे ।’

पुष्पलाई आफूले अध्ययन गरेको बिषयमा जागिर पाउन त गाह्रो छैन भन्ने लाग्थ्यो । तर, कहिले नजानेको कला क्षेत्रमा कसरी जाने भन्ने थाहा थिएन । कला क्षेत्रमा जानका लागि कुन सर्टिफिकेट वुझाउनुपर्छ भन्ने पनि उनलाई थाहा थिएन ।

तर, ज्योतिषको आशमा पुगेका उनलाई ज्योतिषले पनि यो क्षेत्रमा नजान सुझाव दिए । पुष्प संझन्छन्–‘म ज्योतिषको बोली जित्नका लागि यो क्षेत्रमा आएँ र रातदिन नभनी काम गरेँ । म कुनै पनि कुरामा लागेपछि त्यसलाई प्राप्त नगरी छाड्दिनँ । यस्तो कुरामा म जिद्दी छु ।’

भदौ ३ गते रिलिज हुन लागेको चलचित्र ‘कृष्णलीला’का लागि ‘हाम्रो सिनेमा र हिट नेपाल’सँग कुराकानी गर्ने क्रममा पुष्पले नेपाली चलचित्र क्षेत्रमा आउँदाको संघर्ष र आफ्नो अठोटको बिषयमा बोलेका हुन् । आजको दिनमा नेपाली चलचित्र र म्युजिक भिडियोमा सर्वाधिक माग भएका यी नायकले आफ्नै कमाईबाट घर, गाडी र राम्रो बैंक ब्यालेन्स जोडेका छन् ।

पुष्पले अभिनय गरेका ‘मङ्गलम, मारुनी’ लगायतका चलचित्रले उनलाई सफल बनायो । अब, उनी चलचित्र ‘कृष्णलीला’बाट आफ्नो अभिनयको नयाँ छलाङ्ग मार्ने तयारीमा छन् । यो चलचित्रमा अटिजमको भूमिका निर्वाहा गरेका पुष्पले यसका लागि पनि खुबै मिहिनेत गरेका छन् ।

१५ दिनसम्म आफ्नो कोठामा ४ बर्षकी भान्जीसँग चलचित्रको पात्र अनुसार हाउभाउ देखाउँदा पुष्पकी बहिनी डराएकी थिइन् । यसपछि, बहिनीले आमालाई फोन गरेर दाई बिरामी भएको खबर पुर्याइन् । पुष्प संझन्छन्–‘कुनै पनि चलचित्रले व्यापार कस्तो गर्छ त्यो भन्न सकिदैन । तर, मलाई चुनौतीपूर्ण भूमिकामा काम गर्न मन लाग्छ । यसपटक पनि चुनौती मैले मोलेको छु ।’

चलचित्रमा पुष्प खड्काले गरेको मिहिनेतबाट उनकी सहकर्मी नायिका श्रद्धा क्षेत्री पनि दंग छिन् । श्रद्धा पनि यो चलचित्रबाट रजतपटमा डेब्यूको तयारीमा छिन् । दर्शकले माया गरेको खण्डमा निरन्तर यो क्षेत्रमा काम गर्ने उनको भनाई छ ।

पुष्प खड्कालाई नेपाली चलचित्रले कलाकार र स्टार दुबै तरिकाले पाएको छ । चलचित्रमा कि त स्टार कि त कलाकार धेरै हुन्छन् । तर, दुबै गुणले भरिएका पुष्पका लागि ‘कृष्णलीला’को व्यापार र उनको अभिनय अझै महत्वपूर्ण छ । पुष्प भदौ ३ गतेको प्रतिक्षामा छन् । ज्योतिषको भविष्यवाणीलाई जितेर स्टार बनेका पुष्प अब दर्शकको मन पनि शानदार तरिकाले जित्न चाहन्छन् ।

प्रस्तुतिः विजय ‘आवाज’

Leave a Reply

Your email address will not be published. Required fields are marked *